काठमाडौं २४ भदाै । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनाको स्मृतिमा काठमाडौंको सातदोबाटोमा ‘जेन–जी सहिद पार्क’ निर्माण गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को परिसरमा बनाइएको पार्कमा ४२ जना जेन–जी युवा र तीन जना प्रहरीका सालिक राखिएका छन्।
पार्कमा राखिएका सालिकको बुधबार बिहान अनावरण गर्ने कार्यक्रम छ। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संयुक्त रूपमा सालिक अनावरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
जेन–जी घाइते नेपाल र जेन–जी सहिद परिवार कल्याणकारी समाजको आयोजनामा हुने कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत निम्तो गरिएको थियो। तर, प्रधानमन्त्री सहभागी नहुने जानकारी उनको सचिवालयले आयोजकलाई गराइसकेको छ।
पार्क तथा सालिक निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय गरेको थियो। निर्माणका क्रममा ग्लोबल आइएमई बैंकले आर्थिक सहयोग गरेको थियो। पार्क र सालिक निर्माणमा करिब ६० लाख रुपैयाँ खर्च भएको जनाइएको छ।
सालिक निर्माणको प्रारम्भिक योजना ४२ जेन–जी सहिदलाई लक्षित गरेर अघि बढाइएको थियो। तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राखेपलाई सालिक निर्माणका लागि निर्देशन दिए पनि बजेटको सुनिश्चितता नहुँदा कामले गति लिन सकेको थिएन।
पछि सहिद परिवार तथा समाजसेवीहरूको पहलमा ग्लोबल आइएमई बैंकबाट आर्थिक सहयोग जुटेपछि निर्माण अघि बढाइएको हो। निर्माणका सहजकर्ता अर्जुन थापाका अनुसार पार्कमा ४५ सहिदकै सालिक राख्ने निर्णयअनुसार काम सम्पन्न गरिएको हो।
जेन–जी आन्दोलनका क्रममा विभिन्न घटनामा गरी ७६ जनाको मृत्यु भएको थियो। त्यसक्रममा सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका ४२ प्रदर्शनकारी तथा आन्दोलनकारीको आक्रमणमा परी मृत्यु भएका तीन प्रहरीलाई सरकारले सहिद घोषणा गरेको थियो।
पार्कमा राखिएका तीन प्रहरीका सालिकमा सिन्धुली दुधौली–८ का मिलन राय, कास्की रूपा–५ का अमृत गुरुङ र दार्चुला लेकम–३ का उत्तम थापाका सालिक छन्।
आयोजकका अनुसार एउटै आन्दोलनमा सहिद घोषणा गरिएका प्रहरीलाई समेत समान रूपमा स्मरण र सम्मान गर्नुपर्ने आवाज उठेपछि पार्कमा उनीहरूको पनि सालिक समावेश गरिएको हो।