कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

0 Shares

काठमाडौं, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा अनुमोदन गर्दै सार्वजनिक गर्ने निर्णय गरेको हो।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार शुक्रबार बिहान ८ बजे बसेको बैठकले नतिजा प्रकाशनको औपचारिक निर्णय गरेको थियो। यससँगै देशभरका लाखौं विद्यार्थीको प्रतीक्षाको अन्त्य भएको छ।

यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार १७० परीक्षार्थी सहभागी भएका थिए।

परीक्षामा सहभागीमध्ये ३ लाख ३२ हजार २४१ जना नियमिततर्फका तथा ८५ हजार ९२९ जना आंशिकतर्फका विद्यार्थी रहेका थिए। बोर्डले नियमित र आंशिक दुवै समूहका विद्यार्थीको नतिजा एकैपटक सार्वजनिक गरेको जनाएको छ।

सरकारले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले भने निर्धारित समयसीमाभन्दा अगावै नतिजा सार्वजनिक गर्दै मूल्याङ्कन तथा नतिजा प्रशोधन कार्य समयमै सम्पन्न गरेको जनाएको छ।

कक्षा १२ को नतिजालाई उच्च शिक्षामा प्रवेशका लागि महत्वपूर्ण आधारका रूपमा हेरिन्छ। नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूले अब स्नातक तह अध्ययनका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थामा भर्ना प्रक्रिया अघि बढाउन सक्नेछन्।

सम्बन्धित समाचार

सबै