नाफामा आयल निगम र विद्युत् प्राधिकरण, घाटामा वायुसेवा निगम र खानेपानी संस्थान
0
Shares
काठमाडौं जेठ १४ गते । आर्थिक वर्ष ०८१/८२ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये नेपाल आयल निगम सबैभन्दा बढी नाफा कमाउने संस्थान बनेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा ०८३’ अनुसार निगमले उक्त वर्ष १३ अर्ब ६४ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।
त्यस्तै, सबैभन्दा बढी घाटा व्यहोर्ने संस्थानको सूचीमा नेपाल वायुसेवा निगम पहिलो स्थानमा रहेको छ । निगमले सो अवधिमा एक अर्ब २३ करोड रुपैयाँ घाटा व्यहोरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नाफा कमाउने संस्थानमध्ये नेपाल विद्युत् प्राधिकरण दोस्रो स्थानमा रहेको छ । प्राधिकरणले ६ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ६ अर्ब ६७ करोड रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहेको छ ।
नाफा गर्ने अन्य संस्थानमा कृषि विकास बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल स्टक एक्सचेञ्ज, नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, राष्ट्रिय बिमा कम्पनी, कृषि सामग्री कम्पनी लिमिटेड तथा गोरखापत्र संस्थान रहेका छन् ।
यसैगरी, जनक शिक्षा सामग्री केन्द्र, विशाल बजार कम्पनी, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी, विद्युत् उत्पादन कम्पनी लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, राष्ट्रिय जीवन बिमा कम्पनी, नेपाल वन निगम, पूर्वाधार निर्माण कम्पनी लिमिटेड, सांस्कृतिक संस्थान तथा जनकपुर चुरोट कारखाना पनि नाफामा सञ्चालन भएका संस्थानको सूचीमा परेका छन् ।
उता, घाटामा सञ्चालन भइरहेका १६ संस्थानमध्ये नेपाल खानेपानी संस्थान दोस्रो स्थानमा रहेको छ । संस्थानले ८० करोड ७९ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
घाटामा सञ्चालन भइरहेका अन्य संस्थानमा दुग्ध विकास संस्थान, हेटौँडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, नेपाल रेल्वे कम्पनी, नेपाल टेलिभिजन, ओरियन्ट म्याग्नेसाइट, नेपाल औषधि लिमिटेड, साझा यातायात, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, बुटवल धागो कारखाना, धौवादी फलाम कम्पनी, राष्ट्रिय आवास कम्पनी तथा नेपाल मेटल कम्पनी रहेका छन् ।
अर्थ मन्त्रालयको प्रतिवेदनले केही सार्वजनिक संस्थानले उल्लेख्य नाफा कमाइरहेका बेला धेरै संस्थान अझै पनि निरन्तर घाटामा सञ्चालन भइरहेको देखाएको छ । यसले सार्वजनिक संस्थानको व्यवस्थापन, सञ्चालन क्षमता र सुधार आवश्यकतामाथि पुनः बहस सुरु गरेको छ ।