आगजनीपछि सिंहदरबार पुनर्निर्माण जटिल, पुरातात्त्विक सम्पदा ठूलो मात्रामा नष्ट

0 Shares

काठमाडौं, वैशाख ९ गते । सिंहदरबार को पुनर्निर्माण २०७२ सालको भूकम्पपछिको भन्दा अझ जटिल र चुनौतीपूर्ण देखिएको छ। दक्षिण एसियाकै वैभवशाली इतिहास बोकेको यस संरचनामा भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको आगजनीले भूकम्पभन्दा ठूलो क्षति पुर्‍याएको हो।

भूकम्पका बेला संरचना भत्किए पनि आधारभूत संरचनामा तात्त्विक असर नपरेकोले पुनर्निर्माण अपेक्षाकृत सहज थियो। तर आगजनीले भवनका अधिकांश भाग जलेर खरानी बनेपछि अहिले पुनर्निर्माण प्रक्रिया कठिन बनेको सम्बन्धित अधिकारीहरूले बताएका छन्। विशेष गरी पश्चिमी मोहडा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने पूर्वी, उत्तरी र दक्षिणी भागमा पनि गम्भीर असर परेको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर चक्रवर्ती कण्ठका अनुसार अहिले भवन बाहिरबाट उभिएको जस्तो देखिए पनि भित्रका अधिकांश संरचना नष्ट भइसकेका छन्। “पहिले भूकम्पले जोर्नीहरूमा मात्र क्षति पुर्‍याएको थियो, तर अहिले त इँटा, भित्ताहरू, छत र खम्बा नै जलेर अस्तित्वविहीन भएका छन्,” उहाँले भन्नुभयो।

आगजनीका कारण पुरातात्त्विक महत्वका सामग्रीहरू पनि ठूलो मात्रामा नष्ट भएका छन्। बेलायती बैठक कक्ष, ऐतिहासिक गलैँचा, राणाकालीन पियानो, पुराना फोटो, चित्रकला, सिसा तथा विश्वका विभिन्न मुलुकबाट ल्याइएका बहुमूल्य उपहारहरू जलेर नष्ट भएको कार्यालयले जनाएको छ।

इन्जिनियर कण्ठका अनुसार काठका संरचना पूर्ण रूपमा जलेपछि भवनका विभिन्न कक्षहरूको छत खसेको छ। “अहिले भवनभित्र कुनै पनि संरचनामा अडेस लागेर हिँड्नसमेत सकिने अवस्था छैन,” उहाँले बताउनुभयो।

यद्यपि, कठिन र खर्चिलो भए पनि सिंहदरबारको पुनर्निर्माण सम्भव रहेको उहाँले स्पष्ट पार्नुभयो। पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाका रूपमा रहेको यो भवन भत्काउन नमिल्ने भएकाले पुरानै स्वरूप कायम राख्दै प्रबलीकरणसहित पुनर्निर्माण गरिने योजना रहेको छ।

वि.सं. १९६० मा चन्द्रशमशेर जबरा द्वारा निर्माण गरिएको सिंहदरबार युरोपेली ‘नियो क्लासिकल’ शैलीमा बनेको नेपालको मुख्य प्रशासनिक केन्द्र हो। पाँचतले यस भवनमा तहखानासहित चार प्रमुख मोहडा रहेका छन्, जसको कुल क्षेत्रफल करिब १२ हजार ४६१.८१ वर्गमिटर रहेको छ।

आगजनीपछि सिंहदरबारको पुनर्निर्माण प्रक्रिया कति छिटो र प्रभावकारी रूपमा अघि बढ्छ भन्ने विषय अहिले सरकारका लागि ठूलो चुनौतीका रूपमा देखिएको छ।

सम्बन्धित समाचार

सबै