एम्बुलेन्सको ठक्करबाट बर्दियामा दुईको मृत्यु, दुई घाइते

0 Shares

बर्दिया बैशाख ६ गते । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बा ०३-००१ च ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा पैदल हिँडिरहेका व्यक्तिहरूलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

दुर्घटनामा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब ७ वर्षीय नाति रिहान्सको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। लामिछाने योग गुरुसमेत रहेको जनाइएको छ। उनीहरू योग शिविरतर्फ जाँदै गरेका बेला तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता लामिछाने र स्थानीय ६५ वर्षीय सूर्य उपाध्याय घाइते भएका छन्। घाइते दुवै जनाको नेपालगन्जस्थित नर्सिङहोममा उपचार भइरहेको छ र उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।

घटनापछि एम्बुलेन्स चालकसहित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकसँग सोधपुछ भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए।

स्थानीयवासीले एम्बुलेन्सको तीव्र गति र लापरवाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्। घटनापछि सो क्षेत्र तनावग्रस्त बनेको थियो भने प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको जनाइएको छ।

यस घटनाले एम्बुलेन्सजस्ता आपतकालीन सवारी साधन सञ्चालनमा पनि जिम्मेवारी र सावधानी आवश्यक रहेको विषय पुनः उजागर गरेको छ।

सम्बन्धित समाचार

सबै