काठमाडौँ ३० फागुन । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को १७औँ बैठकले सन् २०२६ का लागि नेपालले भारतबाट खरिद गर्ने विद्युत्को नयाँ मूल्यदर निर्धारण गरेको छ। बैठकले गत वर्षको तुलनामा प्रतियुनिट १.५ प्रतिशत मात्र मूल्यवृद्धि गरेको हो।

निर्धारित दरअनुसार १३२ केभी प्रसारण लाइनमार्फत खरिद गरिने विद्युत्को मूल्य प्रतियुनिट ८.२२ भारतीय रुपैयाँ कायम गरिएको छ। त्यस्तै ३३ केभी प्रसारण लाइनमार्फत प्रतियुनिट ८.९१ रुपैयाँ र ११ केभी प्रसारण लाइनमार्फत प्रतियुनिट ९.५५ रुपैयाँ निर्धारण गरिएको छ।
बैठकमा नेपाली पक्षको नेतृत्व हितेन्द्रदेव शाक्यले गरेका थिए भने भारतीय पक्षबाट विजयकुमार सिंहले नेतृत्व गरेका थिए।
यसअघि सन् २०२५ का लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने विद्युत् आदानप्रदानको दर ८.१ रुपैयाँ, ३३ केभीमार्फत ८.७८ रुपैयाँ र ११ केभीमार्फत ९.४१ रुपैयाँ प्रतियुनिट कायम गरिएको थियो।
बैठक २८ र २९ फागुनमा पोखरामा सम्पन्न भएको थियो। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सञ्जीव राय, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरको पनि सहभागिता रहेको थियो।

मूल्य निर्धारण भएसँगै आगामी सुक्खायाममा नेपालको विद्युत् आपूर्ति व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक करिब १२ देखि १४ हजार मेगावाट घण्टा विद्युत् भारतबाट आयात गरिरहेको छ, सुक्खायाममा माग बढेसँगै आयात अझ बढ्न सक्ने अनुमान गरिएको छ।
नेपाल र भारतबीच विद्युत् आदानप्रदानको व्यवस्था सन् १९९२ देखि पीईसीमार्फत सञ्चालन हुँदै आएको छ। तीन दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको यो संयन्त्रलाई नेपाल–भारत ऊर्जा सहकार्यको महत्वपूर्ण आधार मानिन्छ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यका अनुसार वार्ताका क्रममा भारतीय पक्षले विद्युत्को मूल्य ५.५ प्रतिशत बढाउनुपर्ने प्रस्ताव राखेको थियो। तर नेपाली पक्षले बजार अध्ययन र उपलब्ध सूचकांकका आधारमा ठूलो दर वृद्धि आवश्यक नरहेको तर्क गर्दै सीमित वृद्धि मात्रमा सहमति जनाएको हो।
अब उक्त दर स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा पठाइनेछ। आयोगबाट स्वीकृति पाएपछि १ अप्रिलदेखि नयाँ दर लागू हुने र आगामी मार्चसम्म कायम रहने बताइएको छ। यस व्यवस्थाअनुसार नेपालले अधिकतम ३५० मेगावाटसम्म विद्युत् आयात गर्न सक्ने प्राधिकरणले जनाएको छ।
