ढोरपाटनमा फैलिएको दादुरा नियन्त्रण गर्न ४,६१७ बालबालिकालाई खोप

0 Shares

बागलुङ (गलकोट), फागुन ३० गते ।  ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा रोग नियन्त्रणका लागि सामूहिक खोप अभियान सञ्चालन गरिएको छ। शुक्रबार नगरपालिकाका सबै नौ वटै वडामा एकैदिन ४ हजार ६१७ बालबालिका तथा किशोर–किशोरीलाई खोप लगाइएको हो।

दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा आवश्यक खोप तथा स्वास्थ्यकर्मी परिचालन गरी अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाभरि ६ हजार ७६३ बालबालिका र किशोर–किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा पहिलो दिनमै ४ हजारभन्दा बढीलाई खोप लगाइएको हो। छुटेका बालबालिकालाई पुनः विद्यालय, स्वास्थ्य संस्था तथा विद्यालय नजाने बालबालिकाको हकमा घरघरमै पुगेर खोप लगाइने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

दादुरा प्रकोप विशेषगरी नगरपालिकाका वडा नम्बर ७, ८ र ९ अन्तर्गतका बोबाङ, सेराबाङ र लाकुरीबोट क्षेत्रमा देखिएको थियो। ती क्षेत्रमा हालसम्म ७४ जना शङ्कास्पद बिरामी फेला परेका छन्।

जसमध्ये ३२ जना बिरामी उपचारपछि घर फर्किसकेका छन् भने सात जना बालबालिका अझै उपचाररत रहेका छन्। स्थानीय तह र स्वास्थ्यकर्मीहरूले खोप अभियानसँगै जनचेतना कार्यक्रमलाई पनि तीव्र बनाउँदै रोग नियन्त्रणमा ध्यान केन्द्रित गरेका छन्।

सम्बन्धित समाचार

सबै