पश्चिम बागलुङका ८ विद्यालयमा ४० लाखको छात्रवृत्ति अक्षयकोष

0 Shares

बागलुङ, फागुन ३० गते  । पश्चिम बागलुङका दुई स्थानीय तहका आठ सामुदायिक विद्यालयमा कुल ४० लाख रुपियाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ। गलकोट समाज जापानले प्रत्येक विद्यालयमा पाँच–पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेको हो।

समाजका अध्यक्ष रत्नसिंह बस्नेतका अनुसार गलकोट नगरपालिकाका शिव मावि काँडेबास, चौराहा मावि दुदिलाभाटीगलकोट मावि हटिया बजारमा अक्षयकोष स्थापना गरिएको छ। त्यसैगरी ताराखोला गाउँपालिकाका प्रजातन्त्र मावि माझखर्क, जनप्रेम मावि भुस्कात, दुर्गा भवानी मावि तारा, हरि मावि हिलअर्गल माविमा पनि छात्रवृत्ति अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो।

अध्यक्ष बस्नेतले समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा लगानी आवश्यक भएकाले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको बताउनुभयो। उहाँका अनुसार समाजले आयोजना गरेको ‘नयाँ वर्ष सांगीतिक श्रृंखला २०२५–२६’ कार्यक्रमबाट संकलित रकमबाट उक्त कोष स्थापना गरिएको हो।

विदेशमा अध्ययन र रोजगारीको सिलसिलामा रहे पनि जन्मभूमिको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले समाजले निरन्तर रचनात्मक काम गर्दै आएको बस्नेतले बताउनुभयो। आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनसक्ने विद्यार्थीलाई छात्रवृत्तिबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समाजले अक्षयकोष सञ्चालनलाई व्यवस्थित र पारदर्शी बनाउन तयार गरिएको कार्यविधि समेत विद्यालयहरूलाई हस्तान्तरण गरेको जनाएको छ। अक्षयकोषबाट आउने आम्दानी शिक्षा क्षेत्रका गतिविधि सुदृढ बनाउन उपयोग गरिने विश्वास व्यक्त गरिएको छ।

तेजप्रसाद सापकोटा (वडा अध्यक्ष, वडा नं. ८, गलकोट नगरपालिका) ले विदेशमा रहेका गलकोटेहरूले जन्मगाउँको विकासमा गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो। त्यस्तै समाजका महासचिव दिलिप पौडेलका अनुसार उक्त अक्षयकोषबाट विद्यालयका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

गत वर्ष पनि समाजले गलकोट र ताराखोलाका ११ विद्यालयमा पाँच–पाँच लाख रुपियाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको थियो। अध्यक्ष बस्नेतका अनुसार आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई थप विद्यालयसम्म विस्तार गर्दै लैजाने योजना रहेको छ।

सम्बन्धित समाचार

सबै