निर्वाचन आयोगद्वारा समानुपातिक नतिजा सार्वजनिक

0 Shares

काठमाडौँ, फागुन २७ गते । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिक प्रणालीबाट चयन हुने ११० सिटको नतिजा सार्वजनिक गरेको हो।

आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको छ। रास्वपाले ५७ सिट जित्दै पहिलो स्थान बनाएको छ। त्यस्तै नेपाली कांग्रेस ले २० सिट, नेकपा एमाले ले १६ सिट र नेपाल कम्युनिस्ट पार्टी ले ९ सिट प्राप्त गरेका छन्।

त्यसैगरी श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी ले समानुपातिकतर्फ ४–४ सिट प्राप्त गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) अनुसार ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका यी ६ राजनीतिक दलले मात्र समानुपातिकतर्फ सिट पाएका हुन्।

आयोगका अनुसार ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) र समानुपातिक दुवै निर्वाचन प्रणालीको मत परिणाम टुङ्गिएको छ। प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ भने विजयी उम्मेदवारहरूले प्रमाणपत्र समेत प्राप्त गरिसकेका छन्।

मतदान विवरणअनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेकामा प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। त्यसमध्ये ९४.५५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।

यस्तै समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोग का सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराई द्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा निर्देशिकाको दफा ३५ बमोजिम दलहरूले क्लस्टर मिलाएर समानुपातिकतर्फका उम्मेदवारको नाम आयोगमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

आयोगले अब प्रक्रिया अनुसार समानुपातिकतर्फ दलहरूले सिफारिस गर्ने उम्मेदवारहरूको सूची प्राप्त भएपछि प्रतिनिधिसभाको पूर्ण गठन प्रक्रिया अघि बढ्ने जनाएको छ।

सम्बन्धित समाचार

सबै