काठमाडौँ, पुस ३० गते । नेपालले हालै प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) ‘मुनाल’ निर्धारित कक्ष (अर्बिट) मा नपुग्दै अन्तरिक्षमै अड्किएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को पहल तथा छिमेकी मुलुक भारत सरकारको सहयोगमा सोमबार भारतको श्रीहरिकोटस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट मुनाल भूउपग्रह प्रक्षेपण गरिएको थियो । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र भारतको विदेश मन्त्रालयको सहकार्यमा बिहान करिब १०ः३० बजे प्रक्षेपण भएको भूउपग्रह अन्तरिक्षको करिब ४६० किलोमिटर उचाइसम्म पुगे पनि प्राविधिक समस्याका कारण निर्धारित कक्षमा प्रवेश गर्न नसकी अन्यत्र मोडिएको नास्टले जनाएको छ ।
नास्टका सदस्यसचिव डा. रविन्द्र ढकालका अनुसार मुनाल भूउपग्रह अन्तरिक्षसम्म सफलतापूर्वक पुगे पनि रकेटको तेस्रो चरणको सञ्चालनमा समस्या देखिँदा उडान विचलित भएको हो । “जहाँ जानुपर्ने थियो, त्यहाँ नगई डाइभर्ट भएर अन्तै मोडियो,” उहाँले बताउनुभयो । अन्तरिक्षमा यसको अवस्थिति पत्ता लागे पनि पुनः सही कक्षमा फर्काउन सकिने अवस्था भने नरहेको ढकालले जानकारी दिनुभयो ।
मुनाल भूउपग्रह काठमाडौँ विश्वविद्यालय तथा विभिन्न विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीहरूको सक्रिय सहभागितामा निर्माण गरिएको हो । करिब दुई वर्षअघि निर्माण सम्पन्न भए पनि प्रक्षेपणका लागि समय मिल्न नसक्दा ढिलाइ भएको नास्टले जनाएको छ । भूउपग्रहको तौल करिब १.३ केजी रहेको थियो ।
नेपालले यसअघि पाँच वर्षअघि प्रक्षेपण गरेको पहिलो भूउपग्रह ‘नेपाली स्याट–वान’ अन्तरिक्षको करिब ४०० किलोमिटर माथिको कक्षमा सफलतापूर्वक स्थापित भएको थियो । त्यसको तुलनामा मुनाल कक्षमा पुग्न नसके पनि अन्तरिक्षसम्म पुग्नु आफैंमा सकारात्मक पक्ष भएको ढकालको भनाइ छ ।
मुनाल भूउपग्रहबाट वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) मा आधारित तथ्याङ्क विश्लेषण र प्रशोधनमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो । तर प्राविधिक अवरोधका कारण ती लक्ष्य तत्काल पूरा हुन सकेनन् ।
प्रक्षेपणका क्रममा नास्टका उपकुलपति डा. दिलीप सुब्बा, सदस्यसचिव डा. रविन्द्र ढकाल तथा भूउपग्रह निर्माणमा सहयोग पुर्याएका इन्जिनियर हरिराम श्रेष्ठ भारतमा उपस्थित हुनुहुन्थ्यो । नास्टले अब परिमार्जनसहित ‘मुनाल टु’ निर्माण र प्रक्षेपणको तयारी तत्काल सुरु गरिने जनाएको छ । ढकालका अनुसार ‘मुनाल टु’ निर्माण तथा प्रक्षेपणमा भारतका वैज्ञानिकहरूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नास्टले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालभित्रै निर्माण गरिएको मुनाल भूउपग्रह राष्ट्रिय गौरवको परियोजना भएको उल्लेख गर्दै प्रक्षेपणको प्रारम्भिक चरण सफल भए पनि रकेटको तेस्रो चरणमा आएको समस्याका कारण उडान विचलित भएको स्पष्ट पारेको छ ।
