काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको कार्यकारी नेतृत्व पुनः सम्हाल्ने भएका छन् । कार्यवाहक सभापति डिपी अर्यालका अनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनेछन् ।
‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुनेछ,’ अर्यालले बताए । पुर्पक्षका लागि थुनामा परेपछि लामिछानेले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।
रास्वपाले जारी गरेको विज्ञप्तिमा विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सभापति रवि लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहे पनि ती तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको शृंखला भएको स्पष्ट भइसकेको छ । अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको शृंखलालाई पूर्णविराम लगाउनेछ भन्ने विश्वास पार्टीले लिएको छ ।’
पार्टीले लामिछानेलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेशप्रति सम्मान व्यक्त गरेको छ ।
यसैबीच, रास्वपाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया शनिबारदेखि सुरु गरेको छ । सहमहामन्त्री तथा उम्मेदवार छनोट समिति संयोजक विपिन आचार्यका अनुसार मंसिर मसान्तसम्म ३२५ जनाबाट आवेदन प्राप्त भएका छन् ।
आचार्यका अनुसार सातै प्रदेशमा आन्तरिक प्रतिस्पर्धाका आधारमा समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अघि बढाइनेछ । छलफलका लागि सातवटै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
रास्वपाले समानुपातिक उम्मेदवारीका लागि आवेदन दिने समय ५ पुससम्म थप गरेको छ । शुक्रबार रातिसम्म आवेदन दिने आवेदकसँग शनिबार नै छलफल गरिनेछ भने थप समयभित्र आवेदन दिनेहरूसँग पछि छलफल गरिने जनाइएको छ ।
कार्यतालिका अनुसार ६ र ७ पुसमा उम्मेदवारका आकांक्षीसँग घरदैलो गरिनेछ । १० र ११ पुसमा मापनका अन्य आयाममा छलफल हुनेछ । यसक्रममा आवेदकहरूले अर्काे आवेदकका पक्षमा स्वस्फूर्त रूपमा उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सबै प्रक्रिया पूरा भएपछि अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरिने आचार्यले बताए ।