काठमाडौँ, मङ्सिर १ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा काठमान्डु गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलमा पहिलो ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रनको सम्मानजनक योगफल बनाएको थियो। जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै इनिङ्स सम्हालेका थिए। त्यस्तै मयन यादवले ३४ रन जोडे भने लाहिरु समारकूनले २२ रन बनाए।
बलिङतर्फ काठमान्डुका मिलिन्द कुमार चम्किए। उनले ३ विकेट लिए भने सन्तोष यादव, साहब आलम र करण केसीले एक–एक विकेट हात पारे।
जितका लागि १३१ रनको लक्ष्य पछ्याएको काठमान्डुले १८ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। काठमान्डुका लागि बेन चार्ल्सवर्थले ४६ रनको सानदार पारी खेले भने आकाश त्रिपाठीले ३९ रन बनाए। दुवै खेलाडीको संयमित ब्याटिङले टोलीलाई सहज जित दिलायो।
जनकपुरका बलर किशोर महतो, अनिल शाह, ललितनारायण राजवंशी, रुपेश सिंह र सञ्जय कृष्णमूर्तिले एक–एक विकेट लिन सफल भए पनि टोलीलाई जित दिलाउन सकेनन्।
एनपिएलको दोस्रो दिन दुई खेल हुँदैछन्। पहिलो खेलमा चितवन र कर्णाली आमनेसामने हुनेछन् भने दोश्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।