२५ भदौ, काठमाडौं । राजधानीस्थित डिल्ली बजार कारागारबाट केही कैदीहरू निस्कने प्रयास गरेका छन् । कारागारभित्रै असन्तुष्टि बढेपछि उनीहरू बाहिर निस्किएका थिए ।
कारागारको मुख्य गेटतर्फ धकेलिँदै निस्किएका कैदीहरूलाई त्यहाँ खटिएको नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सेनाले गेटमै रोक्दा ठूलो घटना हुनबाट टरेको सुरक्षास्रोतले जानकारी दिएको छ ।
निस्कने प्रयास गर्ने कैदीहरूले आफूहरूलाई साधारण तारेखमा छाड्नुपर्ने माग अघि सारेका छन् । उनीहरूले लामो समयदेखि कैदमा रहे पनि न्यायिक प्रक्रिया ढिलाइ भएको, स्वास्थ्य र खानपानमा समस्या रहेको भन्दै असन्तोष व्यक्त गरेका छन् ।
घटना भएपछि कारागार वरपरको सुरक्षा कडा पारिएको छ । प्रहरी र सेनाले संयुक्त रूपमा निगरानी बढाएका छन् ।
यस सम्बन्धमा विस्तृत विवरण सार्वजनिक नभए पनि कारागार प्रशासनले आन्तरिक अनुसन्धान थालिएको जनाएको छ ।