“साँचो बुझाउने विवादमै अल्झियो ऐतिहासिक काष्ठमण्डप”

0 Shares

भदौ ५ गते । विसं २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएको चार वर्ष पुग्न लागेको छ । तर उद्घाटन भए पनि अझै सञ्चालनमा आउन नसक्दा यसको भविष्य अनिश्चित बनेको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ चैत २१ गते काष्ठमण्डपको पुनर्निर्मित संरचना उद्घाटन गर्नुभएको थियो । सातौँ शताब्दीमा निर्मित यो भवनलाई मरुसत्तलका रूपमा पनि चिनिन्छ ।

दैनिक सयौँ आगन्तुकले अवलोकन गर्ने काष्ठमण्डपमा अहिले सर्वसाधारणको प्रवेश निषेध गरिएको छ । मुख्य प्रवेशद्वार बन्द गरिएका कारण आगन्तुकहरू बाहिरैबाट मात्र हेरेर फर्किन बाध्य छन् । लामो समयदेखि सरसफाइ नहुँदा भुइँ, खम्बा र भित्तामा बाक्लो धुलो जम्न थालेको छ ।

पुनर्निर्माण पुरानै शैली, शिल्प र प्रविधि प्रयोग गरेर सम्पन्न गरिए पनि काष्ठमण्डपमा रहेका गोरखनाथ र गणेशका मूर्तिलाई नयाँ मूर्तिले प्रतिस्थापन गरिएको विषय विवादास्पद बनेको छ । यसै मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ । पुनर्निर्माण सम्पन्न भएको भन्दै बनेको प्रतिवेदनको आधिकारिकतामै विवाद भएपछि पनि काष्ठमण्डप सञ्चालनमा आउन नसकेको हो ।

यता, काठमाडौँ महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिबाट साँचो लिन नमानेको जनाएको छ । महानगर सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईका अनुसार समितिले अझै प्राविधिक (इन्जिनियर) को हस्ताक्षरसहितको प्रतिवेदन बुझाएको छैन । उहाँको भनाइमा, “प्रतिवेदन पेस नगरेसम्म महानगरले साँचो लिन सक्दैन ।”

तर पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले भने पटक–पटक प्रयास गर्दा पनि महानगरले साँचो बुझ्न नमानेको बताउनुभयो । उहाँका अनुसार उद्घाटनकै अवसरमा तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई साँचो बुझाइएको थियो, जसलाई पछि राष्ट्रपतिलाई हस्तान्तरण गरेर औपचारिक उद्घाटन गरिएको हो । तर अदालतमा मुद्दा परेको कारण महानगरले पछि साँचो फिर्ता गरिदिएको दाबी समितिको छ । नयाँ प्रमुख बालेन्द्र साह (बालेन) आएपछि पनि समितिले प्रतिवेदनसहित साँचो बुझाउन खोज्दा महानगरले लिन अस्वीकार गरेको संयोजक शाक्यले स्पष्ट पार्नुभयो ।

मूर्तिसम्बन्धी विवादबारे समितिको धारणा फरक छ । संयोजक शाक्यका अनुसार, २०७२ सालको भूकम्पपछि पुराना गणेश र गोरखनाथका मूर्तिहरू हनुमानढोका हेरचाह अड्डामा राखिएका थिए । धार्मिक गुरुहरूसँग सल्लाह र सार्वजनिक सुनुवाइपछि खण्डित मूर्तिको पूजापाठ गर्नु उचित नहुने निष्कर्ष निकालेपछि नयाँ मूर्तिहरू निर्माण गरी प्राणप्रतिष्ठा गरिएको हो । उहाँको भनाइमा, “नयाँ मूर्तिहरू पुरानै शैली र आकारमा बनेका छन्, त्यसैले ऐतिहासिक महत्व घट्दैन ।”

तर अर्का विज्ञहरूको सुझाव फरक छ । हनुमानढोका दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक काजीमान प्याकुरेलले मुद्दा टुङ्गो नलागे पनि सर्वपक्षीय सहमतिबाट काष्ठमण्डप सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँको भनाइमा, ढिलाइ गर्दा काष्ठमण्डप फेरि जीर्ण हुँदै जाने खतरा छ ।

२०७५ वैशाख ३१ गतेदेखि सुरु गरिएको पुनर्निर्माण १९ करोड ८८ लाख १० हजार ५४५ रुपियाँ अनुमान भए पनि करिब साढे ११ करोडमै सम्पन्न भएको थियो । तर चार वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा काष्ठमण्डप पुनः संकटग्रस्त अवस्थामा पुगेको छ ।

सम्बन्धित समाचार

सबै