जेठ ११ गते । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारस्थित सहिद होमराज लोहनी शारदा सदन माध्यमिक विद्यालयमा अध्ययरत पाँच विद्यार्थी शिक्षकको कुटाइबाट घाइते भएका छन् । सहायक प्रधानाध्यापक निराजन भट्टको कुटाइबाट घाइते भएका हुन् ।
शिक्षक भट्टको कुटाइबाट कक्षा ६ मा अध्ययनरत अस्मृति बिकको देब्रे हात मर्किएको छ भने औंला भाँचिएको छ । यातना दिई कुटपिट गर्ने शिक्षकको कारबाहीको माग राख्दै पीडितका अभिभावकले आइतबार विद्यालयमा निवेदन पेश गरेका छन् ।
छोरी शुक्रबार खाना नखाई झोक्राएर सुत्न लागेपछि उनका साथीसँग सोध्दा शिक्षकको कुटाइले घाइते भएको पत्ता लागेको अस्मृतिको आमा राममाया सुनारले बताउनुभयो ।
शिक्षकको डरले कुटाई खाएको नभनेको र साथीसँग सोधेर पत्ता लगाएको उहाँले बताउनुभयो । कुटाई छोरी सख्त घाइते भएकाले आइतबार विद्यालयमा पुगेर कारबाहीको माग राखेको सुनारले बताउनुभयो । कुटाइबाट हात मर्किएको, औंला भाँचिएको, पिठिउँमा निलडाम रहेको र हाल ज्वरो आएको सुनारले बताउनुभयो । साथीसँग किन झगडा गरेको भनेर शिक्षक भट्टले लौरीले पिढिउँ र हातमा हिर्काउनु भएको अस्मृतिले बताउनुभयो ।
देव्रेहात बेस्सरी दुखेको र औँला चलाउन कठिन भएको अस्मृति बताउनुहुन्छ । अस्मृतिले भन्नुभयो, ‘‘साथीसँग सामान्य भनाभन भएको थियो सरले एक्कासि बेस्मरी कुट्नु भयो ।’’
अस्मृतिका अन्य चारजना साथीहरु सिता बिक, सरस्वती सुनार, रविना सुनार र अस्मिता तामाङलाई चोट लागेको छ ।
तर शिक्षकले भट्टले सामान्य कुटेको र चोट नलागेको बताउनुभयो । शिक्षक भट्टले भन्नुभयो, ‘झगडा गरेकाले सामान्य सजाएँ दिएको हुँ घाइते हुने गरी कुटेको छैन ।’’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनराज दाहालले अभिभावकले कुटेर घाइते बनाएको गुनासो गरेकाले सोमबार विद्यालय व्यवस्थापन समितिको बैठक बोलाइएको बताउनुभयो ।
दाहालले भन्नुभयो, ‘‘अभिभावकबाट गुनासो आएको छ हामीले छानबिन गर्छौँ र दोषी भए कारबाहीको पक्रिया अघि बढाउँछौँ ।’’
