– लक्ष्मण राेकाया
नेपालको भूगोलमा सबैभन्दा दुर्गम, विकट र विकासका सूचकाङ्कहरूमा पछाडि परेको क्षेत्र भनेको कर्णाली प्रदेश हो। यहाँको सामाजिक संरचना, सांस्कृतिक परम्परा, आर्थिक अवस्था र भौगोलिक पहुँचले महिलाहरू, विशेषगरी किशोरीहरूलाई अझै पनि पछाडी परिरहेको छन। बालविवाह, छाउपडी, विद्यालय जान नपाउने, वा पाएपनी उच्च शिक्षा लिन नपाउने , लैङ्गिक हिंसा, शिक्षा र स्वास्थ्यमा पहुँचको अभाव आदि समस्या यहाँका छोरीहरूका साझा पीडा हुन्। यिनै समस्याहरूको समाधान, सचेतना अभिवृद्धि र दीर्घकालीन परिवर्तनका लागि कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजना भइरहेकाे “कर्णाली छोरी सम्मेलन” अत्यन्त सान्दर्भिक र समयसापेक्ष पहल हो। यस्ताे कार्यक्रम सम्बन्धीत ठाउमा जान नपाए पनी विभिन्न माध्यमबाट सुन्न र हेर्न पाइयाे । यसलाइ केलाउदा वा सुन्दा निम्न कुराहरूलाइ सुझाउन सकिन्छ ।
कर्णाली छोरी सम्मेलनको मूल औचित्य भनेको समाजमा छोरीहरूप्रति रहेको पुरातन सोच, भेदभाव र विभेदपूर्ण व्यवहारविरुद्ध आवाज उठाउनु हो। लैङ्गिक समानता, छोरीहरूको अधिकार, शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता आधारभूत विषयमा जनचेतना फैलाउने र नीतिनिर्माताहरूसम्म छोरीहरूको आवाज पु-याउने उद्देश्य राखिन्छ।
विशेषगरी, कर्णालीका किशोरीहरू अझै पनि बालविवाहको चपेटामा छन्। बालिका र किशोरीहरूलाई छाउपडी जस्ता अमानवीय परम्पराले पिडित बनाइरहेको छ। विद्यालय जान छुटेका वा छोड्न बाध्य बनाइएका किशोरीहरूको संख्या उल्लेख्य छ। यस्ता समस्याहरूको दीर्घकालीन समाधान नीतिगत प्रतिबद्धता, व्यवहार परिवर्तन र स्थानीय तहमा सशक्त अभियानबाट मात्र सम्भव छ। त्यसैले कर्णाली छोरी सम्मेलनको औचित्य केवल एक दिने कार्यक्रममा सीमित नभई सामाजिक रुपान्तरणको अभियानको रुपमा बुझ्नुपर्छ।
यस्ता सम्मेलनहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छन्। पहिलो, यसले किशोरीहरूलाई आफ्ना समस्या खुलस्त राख्ने प्लेटफर्म दिएको छ। ग्रामीण भेगका छोरीहरू, जसको आवाज कहिल्यै नसुनिएको थियो, उनीहरू सार्वजनिकरूपमा मुखरित हुन थालेका छन्।
दोस्रो, सरकार, स्थानीय तह, सरोकारवाला निकाय र समुदायलाई किशोरीहरूप्रति उत्तरदायी बनाउने वातावरण सिर्जना भएको छ। सम्मेलनपछिका क्रियाकलापहरू, जस्तै: विद्यालयहरूमा किशोरी मैत्री कार्यक्रम, छाउपडी गोठ भत्काउने अभियान, किशोरी स्वास्थ्य र शिक्षा सम्बन्धी सचेतना तालिम जस्ता गतिविधिहरू यसैको प्रभाव हुन्।
तेस्रो, नीति निर्माण तहमा पनि प्रभाव देखिएको छ। लैङ्गिक समानता, किशोरी सशक्तिकरण, बालविवाह न्यूनीकरण सम्बन्धी नीति, योजना र बजेटमा प्राथमिकता दिन दवाव सिर्जना भएको छ। केही स्थानीय तहहरूमा किशोरी क्लब स्थापना, छात्रवृत्ति वितरण, किशोरी स्वास्थ्य प्याड वितरण जस्ता कार्यक्रम सुरु भएका छन्।
यद्यपि, कर्णाली छोरी सम्मेलनलाई लिएर विभिन्न कोणबाट आलोचना र प्रश्नहरू पनि उठ्ने गरेका छन्। पहिलो र प्रमुख आलोचना भनेको यो कार्यक्रम दिखावटी र अल्पकालीन प्रभावमा सीमित भएको हो। सम्मेलनमा भाषण र घोषणाहरू त हुन्छन् तर त्यसको दीर्घकालीन कार्यान्वयन र परिणाममुखी मूल्याङ्कन गर्ने संयन्त्र कमजोर छ।
त्यस्तै, प्रदेश सरकार आफैं सशक्त भएर यस्ता कार्यक्रम सञ्चालन गर्न नसक्नु अर्को गम्भीर प्रश्न हो। बजेटको अभाव, कार्यान्वयन क्षमताको कमी, प्राथमिकतामा अन्य क्षेत्रलाई राख्ने प्रवृत्ति र NGO/INGO मा निर्भरता सरकारको कमजोरीका रूपमा देखिन्छ।
NGO/INGO हरूको भूमिकालाई लिएर पनि आलोचना छन्। उनीहरूले आफ्नो संस्थागत लक्ष्य, दातृ निकायका एजेन्डा र प्रतिवेदन देखाउनकै लागि यस्ता कार्यक्रम सञ्चालन गर्ने गरेको आरोप छ। कतिपयले त यस्ता सम्मेलनहरूलाई ‘पटक पटक एउटै विषयमा कार्यक्रम गरेर नाम कमाउने खेल’ भनी आलोचना गर्ने गरेका छन्।
सरकारका लागि यस्ता कार्यक्रमहरू लोकप्रियता कमाउने अवसर पनि हुन्छ। “हामीले छोरीहरूको पक्षमा काम गर्यौं” भन्ने देखाउनका लागि यस्ता कार्यक्रम उपयोगी हुन्छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायसँग सशर्त फण्ड जुटाउन पनि यस्तो सम्मेलनले मद्दत गर्छ।
त्यस्तै, NGO/INGO हरूका लागि यस्ता कार्यक्रमहरू आफ्नो प्रभाव विस्तार, संस्थागत छवि निर्माण र आगामी फन्डिङ पाउन सहयोगी हुन्छन्। सामाजिक न्याय र मानव अधिकारको भाष्य लिएर गरिने यी कार्यक्रमहरू प्रायः ‘project-based’ हुने भएकाले दीर्घकालीन परिणाम भन्दा पनि रिपोर्टिङ केन्द्रित हुने गरेको पाइन्छ।
कर्णाली छोरी सम्मेलन जस्ता पहलहरूको दीर्घकालीन प्रभाव सुनिश्चित गर्नका लागि केही सुधारका उपायहरू आवश्यक छन्।
पहिलो, सम्मेलनमा उठेका सरोकारहरूलाई नीति र योजनामा कार्यान्वयन गर्ने गम्भीर प्रतिबद्धता चाहिन्छ।
दोस्रो, प्रदेश सरकारले आफैंले नेतृत्व लिएर स्थानीय तह र समुदायसँग मिलेर यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ।
तेस्रो, NGO/INGO ले कार्यक्रमहरूलाई ‘project complete’ मानसिकताबाट हटेर दीर्घकालीन सामाजिक रुपान्तरणको अभियानमा रूपान्तरण गर्नुपर्छ।
चौथो, युवतीहरूकै नेतृत्वमा गरिने कार्यक्रमहरूलाई प्राथमिकता दिनु, स्कूल र समुदायस्तरमै निरन्तरता दिने उपायहरू अपनाउनु पर्छ।
कर्णाली छोरी सम्मेलनको औचित्य निश्चय नै सान्दर्भिक र आवश्यक छ। यसले सामाजिक चेतना अभिवृद्धि, किशोरीहरूको अधिकारको पैरवी र नीतिनिर्माण तहमा दवाव सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ। तर, यो सम्मेलन केवल सिम्बोलिक गतिविधिमा सीमित भएमा यसको दीर्घकालीन प्रभाव सम्भव हुँदैन। प्रदेश सरकारको नेतृत्व, NGO/INGO को दिगो रणनीति र समुदायको प्रत्यक्ष सहभागितासँगै मात्र यस्तो कार्यक्रमले साँच्चिकै सामाजिक रुपान्तरण सम्भव बनाउनेछ।

