काठमाण्डाैं बैशाख १८ गते । नेपाल शिक्षक महासङ्घअन्तर्गतका शिक्षकहरूले चैत २० गतेदेखि राजधानी काठमाडौंसहित देशव्यापी सामुदायिक विद्यालयमा आन्दोलन सुरु गरेका थिए। उनीहरूले विद्यालय शिक्षालाई सम्वृद्ध र गुणस्तरीय बनाउन, स्थायी शिक्षकमा निजामति दर्जा प्रदान गर्न, दुर्गम भत्ता र पेंशन जस्ता सेवासुविधा सुनिश्चित गर्न लगायत विविध मागहरू उठाएका थिए। आन्दोलनका कारण शैक्षिक सत्र २०८२ को सुरुदेखि नै देशभरका विद्यालयहरू बन्द भएपछि विद्यार्थीहरूको पठन–पाठनमा गम्भीर प्रभाव परेको थियो ।
तर, विद्यालय सञ्चालनमा अवरोध बढ्दै गएपछि सरकार र महासङ्घबीच आवधिक छलफल जारी रह्यो। गत वैशाख १७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा बसेको वार्ता पश्चात नौ बुँदे सहमति पाकेको घोषणा गरियो। यसैगरी, सहमति अनुसार आन्दोलन फिर्ता हुने र विद्यालयहरू बिहीबार (वैशाख १८) देखि पुनः नियमित सञ्चालनमा फर्कने निर्णय लिएर शिक्षकहरूले आन्दोलन स्थगन गर्ने सुनिश्चित गरियो ।
सहमितिका मुख्य बुँदाहरू यसप्रकार छन्
सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई निजामति अस्पताल काठमाडौंमा स्वास्थ्य उपचारमा सहुलियत
अस्थायी, राहत, करार, साविक मावि लगायत समूहका शिक्षकहरूको बिरामी बिदा एकमुष्ठ प्रदान
बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक सरकारले तोकिएको मापदण्डअनुसार व्यवस्था
आगामी आर्थिक वर्ष २०८२/८३ देखि स्थायी शिक्षकहरूका लागि निजामति ग्रेड र रकम निर्धारण
सबै शिक्षकहरूले कानुनबमोजिम दुर्गम भत्ता पाउने
सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने
शिक्षकहरूलाई सरकारको मर्यादा क्रममा समावेश गर्ने
आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार व्यवस्था
माध्यमिक स्तरभन्दा तलका शिक्षकहरूको तलब र ग्रेड माध्यमिक द्वितीय श्रेणी सरह गर्ने
यस सहमतिले वर्षेनि सरकारको खर्चमा करिब ८ अर्ब रुपैयाँको अतिरिक्त भार थप्ने छ भने आगामी असार १५ भित्र नयाँ विद्यालय शिक्षा ऐन पारित गरी शिक्षक–शिक्षाका विषयमा कानुनी सुधार अघि बढाउने तयारी हुनेछ। आन्दोलन स्थगनपछि विद्यालयहरू पुनः विद्यार्थी भर्ना र परीक्षा कार्यक्रम नियमित रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
