काठमाडौं, असार ९ गते । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत उज्वेकिस्तानविरुद्ध गोल गर्दै रोनाल्डो लगातार ६ संस्करणको विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।

समूह ‘के’ अन्तर्गत भएको खेलको छैटौँ मिनेटमै गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए। यससँगै उनले सन् २००६ देखि २०२६ सम्मका लगातार ६ वटा विश्वकपमा गोल गर्ने दुर्लभ उपलब्धि हासिल गरेका छन्।
रोनाल्डोले यसअघि समूह चरणको पहिलो खेलमा डीआर कंगोविरुद्ध गोल गर्न सकेका थिएनन्। तर उज्वेकिस्तानविरुद्धको खेलमा सुरुआतमै गोल गर्दै उनले आफ्नो नाममा अर्को विश्व कीर्तिमान थपेका हुन्।
सन् २००६ मा पहिलोपटक विश्वकप खेलेका रोनाल्डोले उक्त संस्करणमा १ गोल गरेका थिए। त्यसपछि २०१० र २०१४ मा पनि समान १–१ गोल गरे। सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध ह्याट्रिकसहित कुल ४ गोल गरेका उनले २०२२ मा १ गोल गरेका थिए। उत्तर अमेरिकामा जारी विश्वकप २०२६ मा पनि उनले गोलको खाता खोलिसकेका छन्।
यस उपलब्धिसँगै रोनाल्डो विश्वकप इतिहासमा गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन्। उनले ४१ वर्ष १३८ दिनको उमेरमा उज्वेकिस्तानविरुद्ध गोल गरेका हुन्।

विश्वकपमा सबैभन्दा बढी उमेरमा गोल गर्ने कीर्तिमान भने क्यामरुनका महान् खेलाडी Roger Milla को नाममा रहेको छ। उनले सन् १९९४ को विश्वकपमा रुसविरुद्ध ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका थिए।
४१ वर्षको उमेरमा पनि उच्चस्तरीय प्रदर्शन गरिरहेका Cristiano Ronaldo ले उमेर केवल एउटा संख्या मात्र भएको प्रमाणित गर्दै विश्व फुटबलमा आफ्नो प्रभाव अझै कायम रहेको देखाएका छन्।
