धुलिखेल–खावा सडक खण्डमा पाँच दिन टिप्पर सञ्चालन बन्द

0 Shares

बनेपा, असार ८ गते — जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा पाँच दिनसम्म टिप्पर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

सोमबार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले धुलिखेल–खावा सडक खण्डको बाँकी निर्माण कार्य सम्पन्न गर्न एक लेन सडक बन्द गर्नुपर्ने भएकाले असार १४ गतेदेखि १८ गतेसम्म टिप्पर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

बैठकले उक्त अवधिमा टिप्पर सञ्चालन रोक्नुका साथै अन्य सवारी साधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सो सडक खण्डमा प्रवेश गर्न नदिने निर्णय गरेको जनाएको छ। यद्यपि, एम्बुलेन्स लगायत अत्यावश्यक सेवाका सवारी साधन भने पूर्ववत् रूपमा सञ्चालन गर्न दिइनेछ।

सडक बन्दको अवधिमा सवारी व्यवस्थापन तथा वैकल्पिक मार्ग प्रयोगका लागि आवश्यक समन्वय गर्न सडक डिभिजन कार्यालय भक्तपुरले जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा तथा सिन्धुपाल्चोकसँग समन्वय गर्ने निर्णय भएको छ।

अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावासम्म करिब ४.५ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ। हालसम्म उक्त सडक खण्डमध्ये करिब २.५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ।

स्थानीय प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्गको प्रयोग गर्न र निर्धारित समयतालिका अनुसार यात्रा योजना बनाउन अनुरोध गरेको छ।

सम्बन्धित समाचार

सबै