काठमाडौं, वैशाख १२ गते । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर चलाएर हटाउने काम सुरु गरिएको छ। बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा यो अभियान अघि बढाइएको हो।
बस्ती हटाउने क्रममा त्यहाँ बसोबास गर्दै आएका स्थानीय बासिन्दालाई बाहिर निकाल्न सुरक्षाकर्मी परिचालन गरिएको छ। सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको छ। सम्भावित तनावलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।
काठमाडौँ महानगरपालिका का अनुसार थापाथली क्षेत्रमा बस्ती हटाउने काम सकेपछि आजै गैरीगाउँ क्षेत्रका सुकुम्बासी बस्तीहरूमा पनि अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।
महानगरले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ भने स्थानीय बासिन्दाले उचित व्यवस्थापन र पुनर्वासको माग गरेका छन्।
