साउन, महिला र बजारवाद

0 Shares
मिना पाैडेल
समाजशास्त्री

साउनले महिलामाथि मनोवैज्ञानिक, आर्थिक र बौद्धिक शोषण गरिरहेको छ । महिलालाई वस्तुकरण गरी बजार विस्तार गर्न र पुँजीवादी पितृसत्तालाई प्रवर्द्धन गर्न साउनमा हरियो लगाउने फेसन सुरु भयो

साउनमा हरियो लगाउन र यो महिनालाई मनाउन थालिएको डेढ दशकजति भयो । यो आयातित चलन हामीले भारतबाट सिकेका हौँ । कतिपयले बलिउड सिनेमामा देखेर त्यसलाई नक्कल गरे । भारतबाट साउनकै लागि भनेर हरियो चुरा, पोते, लुगाजस्ता सामग्री आउन थालेपछि यसको प्रयोग बढ्न थाल्यो । गाउँघरमा यो प्रचलन देखिँदैन । साउनलाई भनेर हरियोको जोहो गर्ने चलन छैन । यो बजारमा मात्र केन्द्रित छ ।

साउन धार्मिक र सांस्कृतिक रूपबाट हेर्दा हिन्दू परम्परासँग जोडिएको छ । यसमा धर्म, संस्कृति र व्यापार मिसिएको छ । यसमा महिला प्रयोग भएका छन् । किनकि, चुरा, पोते महिलाले लगाउँछन् । व्रत महिलाले बस्छन् । विवाहितले श्रीमान्को आयुका लागि व्रत बस्छन् । अविवाहितले राम्रो श्रीमान् पाऊँ अर्थात् रोजेको श्रीमान् पाऊँ भनेर व्रत बस्छन् । एकातिर यो धर्मसँग जोडिएको छ, अर्कोतिर यसबाट बजारले फाइदा उठाइरहेको छ ।

पितृसत्ताले धर्म, संस्कृति, बजार र मान्छेलाई कसरी प्रयोग गर्छ र नाफा कमाउँछ भन्ने कुरा यहाँ महत्वपूर्ण छ । चुरा, पोते, साडी महिलाले लगाउने भएकाले हरियोको नाममा महिलालाई प्रयोग गर्न सजिलो भयो । महिला पुरुषप्रति पराधीन हुने भएकाले श्रीमान्को आयुका लागि व्रत बस्छन् । हरियो रंगबाट बनेका सामान प्रयोग गर्छन् । महिलालाई वस्तुकरण गरी बजार विस्तार गर्न, पुँजीवादी पितृसत्तालाई प्रवद्र्धन गर्न साउनमा हरियो लगाउने फेसन सुरु भयो ।

धर्म र पितृसत्तासँगै आउन थालेपछि मान्छेलाई उसको बुद्धि, विवेक, स्वाभिमान, दायित्वले निर्देश गरेन, बरु धर्मले मान्छेको जीवनलाई निर्देशित गर्न थाल्यो । पछि आएर साउनमै हरियो लगाउनुपर्छ भन्ने थपियो । ती कुरा अहिले आएर हाम्रो कानुनमा हाबी भएको देखिन्छ । जस्तो– तिजमा के–के गर्ने, जनैपूर्णिमामा के–के गर्ने, दसैँमा के गर्ने र कति दिन बिदा दिने भन्ने धर्मद्वारा निर्देशित छ । यसरी भ्रमहरूलाई आधार बनाएर, कानुनी रूपमा लिपिबद्ध गरेर राज्यले त्यसलाई औपचारिक रूप दियो । साउन, भदौ, माघ उदाहरण मात्र हुन् । साउन फुर्सदको महिना होइन, कृषक महिला, श्रमजीवी महिलाको व्यस्त महिना हो । वर्षभरि खाने जोहो गर्ने महिना हो । महिलाले भदौको केही दिन मात्र हो, प्रयोग गर्ने । भदौको तिज, चौथी, पञ्चमी, यी समय र तिथिहरू जसरी तय गरिएको छ, ती सबै धार्मिक आधारमा तय गरिएका भ्रम हुन् । ती सन्दर्भ स्वीकार गर्न सक्नुभएन भने खराब महिलाको ट्याग लगाइन्छ । समाजमा अन्तरघुलन हुन नसक्ने महिला भनेर नकारात्मक रूपमा सम्बोधन गरिन्छ । धर्मको नाममा मनोविज्ञानमा विष हालिएको छ, जसलाई बाध्य भएर कसैका निम्ति स्वीकार गर्नुपर्छ ।

साउनमा ढुंगाको मूर्तिलाई शिव लिंग भनेर दूध चढाइन्छ । महिलाहरूले ढोग्छन् । फूलमाला चढाउँछन् । तर, महिलाका लिंगलाई चाहिँ दूषित भनिन्छ । आखिर पुरुष र महिलाको लिंग भएर नै मानव सृष्टि हुने हो । शिव, गणेश, कृष्ण, राधा, राम जिउँदा त छैनन् । तर, उनीहरूको मूर्तिलाई पुज्न थालियो । धर्मको आधारमा सिर्जना गरिएका भ्रम र ती भ्रामक संस्कृति यति प्रबल भए कि मानिसको चेतनाले आर्जन गरेका ज्ञान सबै ओझेलमा परे । भ्रमहरू सिर्जना गरेर एउटा निश्चित जाति, धर्म, संस्कृतिलाई संस्थागत गरियो, जुन पछिसम्म पनि रहिरहन्छन् । यसलाई हटाउन सचेत मान्छेको भूमिका आवश्यक छ ।

साउन, महिला र महिलामाथि हुने शोषण, उत्पीडन एकदमै अन्तरसम्बन्धित छन् । हरियो लगाउने, फेसन पछ्याउने, शृंगारपटार र राम्री हुने प्रतिस्पर्धाले महिलाले ज्ञानगुनका कुरा गर्ने समय गुमाइरहेका छन् । त्यसले गर्दा महिला ज्ञान र चेतनामा पछि पर्छन् । बौद्धिकतामा पछि पर्छन् । महिलालाई वस्तूकरण गरेर बजारले मनोवैज्ञानिक हिंसा गरिरहेकै छ, त्यसमाथि शृंगारका सामग्री किन्न लगाएर घर परिवार र आफैँमाथि पनि आर्थिक भार थोपरिरहेको छ । त्यसैले साउन महिनाले महिलामाथि मनोवैज्ञानिक, आर्थिक र बौद्धिक शोषण गरिरहेको छ ।

साउन र हरियो रंगबारे खासै छलफल, बहस हुन सकेको छैन । यसको प्रमुख कारण, चेतनाको कमी हो । नेपाली समाज अहिले सामाजिक, सांस्कृतिक संक्रमणमा छ । हामीले राजनीतिक परिवर्तन गर्‍यौँ । तर, सामाजिक, सांस्कृतिक परिवर्तन गर्न सकेका छैनौँ । जसले गर्दा हाम्रो विवेक, ज्ञान, चेतनाले भन्दा पनि बजारले निर्देश गर्छ । प्रतिस्पर्धाले निर्देश गर्छ । बजारले कहिले साउन आउला र हरिया सामान बजारमा पठाउँला भन्छ । अनि चेतना कम भएका महिला कहिले साउन आउला र बजारमा गएर हरिया सामान किनौँला भन्छन् । त्यसले गर्दा यो चेतनाको अभावका कारण भएको हो । चेतनाको अभाव हुनुको प्रमुख कारण हाम्रो पाठ्यसामग्री हो । अहिले पनि हाम्रो शिक्षण सामग्रीमा आमाले भात पकाउने, बुबा अफिस जाने, पुरुष भनेको बलियो हुन्छ, बाहिर जान हुन्छ, पुरुषले जे पनि गर्न सक्छ । महिला बाहिर जानुहुँदैन, सुरक्षाको खतरा छ भन्ने उल्लेख छ । अर्को मान्छेले शिक्षा लिँदैमा, डिग्री हासिल गर्दैमा शिक्षित हुन्छ भन्ने हुँदैन । शिक्षा र चेतना फरक हुन् । नेपाल धर्म निरपेक्ष राष्ट्र हुँदाहुँदै पनि अझै नेपाली समाज हिन्दू धर्मका भ्रमबाट निर्देशित छ । केही वर्षअघिसम्म प्रधानमन्त्री भएपछि बालुवाटार छिर्नुभन्दा अघि कालो बोको काटिन्थ्यो । अहिले पनि नयाँ हाकिम आउँदै छ भने फूलमाला र ढोकामा पानीको घडा राखेर पूजा गर्ने र रातो टीका लगाउने प्रचलन यथावत् छ । त्यो भनेको हिन्दू धर्मसँग जोडिएको छ ।

धर्मनिरपेक्ष र समाजवादउन्मुख भन्दाभन्दै पनि हामी धर्मले फैलाएका भ्रममा विश्वास गर्छौँ । सामाजिक चेतना किन बढ्न सकेन भन्ने बहस छैन । कक्षाकोठामा पढेर मात्र हुन्न । बहस हुनुपर्छ । खोइ बहस गर्ने थलो ? खोइ बहस गर्ने वातावरण ? हामी बहस गर्नुको साटो पहिला हरियो चुरा र पोते किन्न जान्छौँ । बहस गर्नुको सट्टा धार्मिक गुरुको कथावाचन सुन्छौँ र मख्ख पर्छौं । हामी सकारात्मक परिवर्तनतर्फ उन्मुख हुनुभन्दा भ्रमतर्फ आफ्नो दैनिकीलाई फेर्दै बाँचिरहेका छौँ ।

पुँजीवादी पितृसत्ता
अहिलेको नेपाली समाजको चरित्र भनेको पुँजीवादी रसायनले सिञ्चित गरेको सामन्ती पितृसत्ता हो । किनभने अहिले बजारमा जे पनि पाइन्छ । जस्तोसुकै सामग्री पनि पैसाले किन्न पाइन्छ । हिजो व्रत बस्दा घरमै फलाहार बनाइन्थ्यो । अहिले प्याकेटमा पाइन्छ । हिजो तिजको व्रत आमाछोरी, दिदीबहिनी भेला भएर पारिवारिक रूपमा मनाइन्थ्यो । अहिले तिज पार्टी प्यालेसमा मनाइन्छ । यो भनेको हामीलाई बजारले हस्तक्षेप गरेको हो । हिजोको सामन्ती पितृसत्ता पुँजीवादी पितृसत्तामा बिस्तारै हस्तान्तरण भएको हो । समाज सामन्ती पितृसत्ताबाट समाजवादउन्मुख, प्रगतिशील, चेतनशील, समतामूलक समाजमा रूपान्तरण हुनुपर्नेमा सामन्ती पितृसत्ताबाट पुँजीवादी पितृसत्तामा हस्तान्तरण भइरहेको छ । जसले गर्दा हिजो महिलामाथि मठ, मन्दिर, परिवार हाबी थियो । कहीँ जान पर्‍यो, बुबा, दाइ लिएर हिँड्नुपथ्र्याे । आज तपाईं एक्लै हिँड्न सक्नुहुन्छ, तर तपाईंलाई बजारले प्रयोग गरिरहेको छ । किनभने बजार नाफाखोर र पितृसत्ताको नियन्त्रणमा छ । हिजोको सामन्ती पितृसत्ताका व्यवहार र चलन पुँजीवादी पितृसत्तामा हस्तान्तरण हुँदा स्वाभाविक रूपमा केही स्वरूप फेरिएका छन् । तर, स्वरूपहरू फेरिँदैमा महिलाको स्वाभिमान, सार्वभौमिकता, पहिचानमा फेरबदल आएको छैन । अहिले पनि महिला नेपालको सार्वभौमिक नागरिक हुन सकेका छैनन् । महिला आर्थिक रूपमा परनिर्भर पनि छन् । महिलाको नाममा पैतृक सम्पत्ति छ भनेर निर्णय पुरुषले गर्छ । महिलाको नाममा भएको जमिनलाई बैंकमा राखेर पढ्न जाने वा घर बनाउने, कसैलाई बेच्ने अथवा के गर्ने भन्ने निर्णय पुरुषले गर्छ । हिजोको सामन्ती पितृसत्ता पुँजीवादी पितृसत्तामा हस्तान्तरण हुँदा त्यसले व्यवहार, उत्पीडनका स्वरूप फेरिएका छन्, प्रकृति फेरिएका छन् । तर, जरोचाहिँ उखेलिएका छैनन् ।

साउन र स्वतन्त्रता 
साउनमा व्रत बस्ने महिलाहरूले साथीसँगी भेट्न पाएका छन् । एकछिन, एकदिन भए पनि आफैँले भनेकोजस्तो लगाउन पाएका छन् । अर्को मलाई बजारले कसरी प्रयोग गरिरहेको छ, धर्मको नाममा सामन्ती पितृसत्ताले कसरी दुरुपयोग गरिरहेको छ भन्ने चेतनाको कमी हुँदा पनि खुसी नै देखिएका छन् । त्यस्तै, अर्को यो महिना महिलाले वर्गीय स्तर प्रदर्शन गर्ने थलो पनि बनेको छ । कसले कति गहना लगाए, कस्ता लुगा लगाए, कस्तो हाउभाउ बनाए भनेर प्रतिपस्पर्धा गर्ने अवसर बनेको छ । त्यसैले आफूअनुकूल भन्दा बजार र पितृसत्ताअनुकूल चलेकाले खुसीजस्तै देखिन्छन् ।

गैरहिन्दू महिलामा बढेको हिन्दू संस्कृति मोहले समाजमा धर्मबीचको तनाव नभएको हो कि जस्तो देखिन्छ । सौहार्दता, सहनशीलता भएकोजस्तो देखिन्छ । जुन देखावटी मात्र हो । धर्मनिरपेक्षताले त सबै धर्म समान छन् भन्छ । तर, क्रिसमसको वेला किन तिजमा जस्तो हिन्दू महिला चर्चमा भेला हुँदैनन् ? रमजानका वेला अथवा हज गर्ने वेला मस्जिदमा किन भेला हुँदैनन् ? त्यहाँ त मुस्लिम मात्र जान्छन् । हिन्दू किन जाँदैनन् ? तर, पशुपतिमा सबै किन जान्छन् ? हिन्दू पर्वमा सबै भेला भएर किन रमाउँछन् ? यी सबको एउटा बलियो प्रमाण भनेको अहिले पनि नेपाली समाजमा व्यावहारिक रूपमा हिन्दूकरण छ । अर्को, एक त गैरहिन्दू महिलालाई पनि बजारले तानेको छ । उनीहरूलाई पनि सामाजिक, सांस्कृतिक संक्रमणका कारण वर्गीय स्तर देखाउन साउन, तिज मनाउनुपर्छ भन्ने परेको छ ।

कतिपयले साउनलाई सामाजिक माहोल हो भन्छन् । भेटघाट गर्ने थलो हो, भन्छन् । तर, तपाईं भेटघाटमा के कुरा गर्नुहुन्छ ? भेटघाटको निहित उद्देश्य के हो ? त्यसमा तपाईं सचेत हुनुहुन्छ कि हुनुहुन्न ? तपाईंले त्यसलाई कसरी ग्रहण गर्नुहुन्छ ? अन्ततोगत्वा मन्दिरमा गएर श्रीमान्को निम्ति प्रार्थना गरेँ भन्नुहुन्छ नि ! पुँजीवादी पितृसत्ता कति चलाख छ, कति रणनीतिक छ भने तपाईंलाई जस्तै अवस्थामा पनि प्रयोग गरेर नाफा लिन सक्षम छ । धर्मको नाममा, सामाजिक क्रियाकलापको नाममा, भेटघाटको नाममा, महिला अधिकारका नाममा, स्वतन्त्रताको नाममा, वर्गीय हैसियतको नाममा । विविधता, सौहार्दता जे भने पनि यी सबै पुँजीवादी पितृसत्तामै गएर जोडिने हो ।

साउनमै कथावाचिका देवी प्रतिभालाई कथावाचनका लागि पशुपतिमा ल्याउनु भनेको धर्मलाई राजनीतिक हतियार बनाइँदै छ भन्ने हो । किनभने भारतमा हिन्दू धर्मको प्रोपोगान्डा भइरहेको छ, त्यो नेपालमा पनि सार्नका लागि हो । यो सुनियोजित छ । यो धर्मनिरपेक्ष नेपाललाई धार्मिक राज्यमा फर्काउन गरिएको दुष्प्रयास हो । अर्को, जुन युवती आएर कथावाचन गरिन्, त्यो सबै भ्रम हो । निश्चित ठाउँमा गएर निश्चित कुरा मात्र भन्नु भनेको धार्मिक पाखण्डीहरूले तय गरेको, समाजमा विकृति ल्याउन, समाज भाँड्न र समाज विभाजित गर्न गरेको रणनीति हो । त्यसको फेरि पनि बजारले फाइदा लिएको छ । यसको उद्देश्य भनेको हिजोको परम्परागत सामन्ती संस्कार, विभेदका रणनीतिलाई समाजबाट नहटाउने बरु त्यसलाई संस्थागत गर्ने हो । उनलाई संस्कृतिको नाममा धर्मले जुन रूपमा प्रयोग गरेको छ, उनी आफैँ पीडित भएकी छिन् । उनले वाचन गरेको कथाअनुसार वैवाहित स्थिति जति कठिन भए पनि महिलाले नै स्वीकार गरेर बस्नुपर्छ भन्नु जंगली सामन्तवादको चरणमा फर्क भनेको हो । त्यो भनेको दासप्रथाको कुरा हो । पुरुषको दास हुनुपर्छ भनिएको हो ।

कस्ता छन् महिला संगठनका एजेन्डा ?
पहिले प्रगतिशील पार्टीले तिजलाई व्यवस्थाविरोधी चेतनाको थलो बनाउँथ्यो । पञ्चायतकालमै हामी तिजको दिन पशुपति जान्थ्यौँ, पूजा गर्न होइन, महिला मुक्तिको कुरा गर्न, महिला अधिकारको कुरा गर्न, व्रतको विरुद्ध चेतना फैलाउन । पञ्चायत व्यवस्था खराब छ भनेर चेतना भथ्र्यौँ । त्यहाँ बज्ने गीत सबै प्रगतिशील हुन्थे । परिवर्तनकारी हुन्थे । अहिले त्यो माहोल शून्य छ । अहिले हाम्रा महिला संगठन सम्भ्रान्त महिलावादमा परिणत भएका छन् । ती संगठनका मुद्दा भनेको पार्टी प्यालेसमा तिज मनाउने, पाँचतारे होटेलमा शीर्ष नेताहरूको बर्थडे मनाउने र केक काट्ने भएको छ । संगठनका एजेन्डा पार्टीका शीर्ष पुरुष नेताकोे घर गएर आशीर्वाद थाप्ने भएको छ । राजनीति फेरियो, समाज फेरिएन, जागरण आएन, सामाजिक सांस्कृतिक रूपान्तरण भएन । अनि त्यो रूपान्तरणमा लाग्नुपर्ने महिला संगठन, पुरुष संगठन सबैले मुद्दा बिर्सिए । पुँजीवादी पितृसत्ताले ख्वाप्पै खायो । हाम्रा एजेन्डाहरू हाइज्याक भए । हाम्रा मुद्दा हराए । हाम्रा नेतृत्व गले । विचलित भए । बाटो बिराए । अनि समाज कसरी अगाडि बढ्छ ?

भदौ नलाग्दै महिलामाथि अश्लील शब्द प्रयोग गरेर, महिलालाई अर्धनग्न बनाएर युट्युबमा तिजका गीत आइसके । गीत बनाउने, बजाउने, बेच्ने सबै पैसासँग सम्बन्धित छ । त्यसको फाइदा बजारले लिएको छ । त्यसैले पुँजीवादी पितृसत्ताले महिलालाई पलपलमा, नसानसामा शोषण गरिरहेको छ । जबसम्म कानुनी पराधीनता अन्त्य हुँदैन, तबसम्म महिला कानुनी रूपमै सार्वभौम हुँदैनन् । जबसम्म महिलाले कानुनी हैसियत पाउन बाबु, बाजे र श्रीमान्कोमा जानुपर्ने अवस्था रहन्छ, महिलाको पहिचान स्थापित हुँदैन । जबसम्म उत्पादनका साधनमाथि महिलाको समान हैसियत हुँदैन, तबसम्म चुनाव लड्न कुनै एजेन्टकोमा जानुपर्‍यो, कि दास हुनुपर्‍यो । जबसम्म निर्बाध रूपमा कानुनी पराधीनता, आर्थिक परनिर्भरताको अन्त्य व्यवहारमै हुँदैन, तबसम्म महिला समानताका कुरा भनेका सबै भ्रम हुन् ।

प्रस्तुति : शान्ति तामाङ                                                            –  स्राेत तथा सभार   ः झन नयाँबाट 

सम्बन्धित समाचार

सबै