– लक्ष्मण राेकाया
नेपाली पत्रकारिता अहिले निर्णायक मोडमा आइपुगेको छ। कहिल्यै नझुक्ने कलमहरू, सत्यको पक्षमा दृढ रहेका मिडियाहरू र जनताका आवाज बन्ने पत्रकारहरू क्रमशः हराउँदै छन्। यो स्थिति सामान्य होइन—यो चेतावनी हो। जब पत्रकारिता सत्ताका गल्लीमा रमाउन थाल्छ, तब लोकतन्त्रको मेरुदण्ड कमजोर हुँदै जान्छ। पत्रकारिता सत्य, साहस र सेवाको माध्यम हो भन्ने मूल्यहरू आज ओझेलमा परिरहेका छन्।
२०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को जन अान्दाेलन सम्मकाे यात्रामा नेपाली पत्रकारिताले जनताको पक्षमा उभिने आँट देखाएको थियो। त्यो कालखण्डमा समाचार लेख्ने पत्रकारहरू जनताका हिरो थिए, जो भ्रष्टाचार, अत्याचार र अनाचारविरुद्ध कलम चलाउँथे। तर आज त्यो कलम सत्ताको जुँगामा अड्किन पुगेको छ। समाचारको प्राथमिकता जनताका मुद्दा होइन, सत्ता–सरोकारवालाहरूको सन्तुलनमा सीमित भइरहेका छन्। ‘क्लिकबेट’ शीर्षक, भ्यूज आधारित विषयवस्तु, र पेड कन्टेन्टको बाढीले पत्रकारितालाई व्यापारीकरणको खोलमा पु¥याएको छ।
सबैभन्दा चिन्ताजनक कुरा भनेको खोज पत्रकारिताको लोप हो। केन्द्रीय तहदेखि स्थानीय तहसम्म भइरहेका भ्रष्टाचार, स्रोतको दुरुपयोग, मानव अधिकार उल्लंघन, वा सामाजिक विभेदका गम्भीर मुद्दा उठाउने पत्रकारहरूको संख्या घट्दो छ। कतिपय थोरै स्वतन्त्र पत्रकार र प्लेटफर्महरूले अझै पनि साँचो पत्रकारिताको मानक जोगाइरहे पनि, मूलधारका मिडियाहरूले यस्ता समाचारलाई प्राथमिकता दिन छाडेका छन्। के पत्रकारिता अब जनताको पक्ष होइन, जत्थापार्टी र पुँजीधनीको सेवक बनेको हो ?
मिडिया र राजनीतिबीचको बढ्दो साटासाटले पत्रकारिताको स्वतन्त्रतालाई गम्भीर क्षति पुर्याएको छ। नेताहरूले आफ्ना विचार फैलाउन मिडियालाई प्रयोग गर्छन्, अनि मिडियाहरू नेताहरूबाट सत्ताको पहुँच र आर्थिक फाइदा लिन्छन्। यस्तो सम्बन्धले सम्पादकीय स्वतन्त्रतालाई कुन्द पार्छ र पत्रकारलाई स्वतन्त्र लेख्न डर लाग्ने बनाउँछ। आज पत्रकारिता गर्नेहरू यथार्थभन्दा डर, दबाब र दलालीतिर झुकेका छन्।
पत्रकारिता शिक्षाको अवस्था पनि निराशाजनक छ। पत्रकारिता पढ्ने धेरै युवाहरूमा ‘मिशन’ भन्दा ‘प्रोफेसन’ हावी हुँदै गएको छ। पत्रकारिताको मर्म सिकाउने शिक्षालयहरू आफै प्रचारमुखी बनेका छन्। यस्ता विद्यार्थीहरूबाट सत्यको पक्षमा बोल्ने पत्रकार जन्मने सम्भावना नै खुम्चिंदै गएको छ।
तैपनि, यो अन्धकारमा केही आशाका किरणहरू बाँकी छन्। केही स्वतन्त्र डिजिटल प्लेटफर्महरू, अनुसन्धानमुखी पत्रकारहरू र स्वतन्त्र आवाजहरू अझै पनि निष्पक्षता र सत्यको पक्षमा कलम चलाइरहेका छन्। तर उनीहरूलाई चाहिएको छ, पाठकको साथ, समाजको समर्थन, र वित्तीय आत्मनिर्भरता। जबसम्म जनताले सत्य खोज्ने पत्रकारिता पढ्दैनन्, बाँकी पत्रकारिता झनझन भाडामा जानेछ।
नेपाली पत्रकारिताले जुन बाटो विर्सेको छ, त्यो बाटो सत्यको हो, न्यायको हो, र जनताको पक्षमा बोल्ने साहसको हो। त्यो बाटो फर्किन पत्रकार मात्र होइन, हामी सबैको भूमिका छ। पाठकले अब निर्णय गर्नुपर्छ, हामी झूटका सौदागर हेर्न चाहन्छौं कि सत्यका पहरेदार ।