परेसि पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धन

0 Shares

भदौ १५ गते । परेसि पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले नेपाल सरकारबाट ६५ लाख रुपियाँ पुरस्कार पाउनुहुनेछ ।२१ वर्षीया पलेशाले ओलम्पिकमा कांस्य पदक जिते वापत राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा उल्लेख भएअनुसारको नगद पुरस्कार पाउने पक्का भएको हो ।

राष्ट्रिय खेलकुद विकास नियमावलीमा ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद (साग), विश्व च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीले पाउने पुरस्कार बारे उल्लेख गरिएको छ ।

सोही नियमावलीमा भएको ब्यवस्था अनुसार चीनको होङझावमा गतवर्ष चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जित्नु भएकी पलेशाले १३ लाख रुपियाँ पुरस्कार पाउनुभएको थियो ।

यस्तै नियमावली अनुसार  पलेशाको प्रशिक्षकले पाँच लाख ८५ हजार, व्यवस्थापकले दुई लाख ९२ हजार र सम्बन्धित खेल सङ्घले ११ लाख ७० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा पलेशाले शनिबार के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै कांस्य जित्नुभएको हो । यो ओलम्पिकमा कुनै पनि खेलाडीले जितेको पहिलो ऐतिहासिक पदक हो ।

पलेशाले पहिलो चरणको खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउनुभएको थियो । तर, क्वार्टरफाइनलमा उहाँ ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित हुनुभएको थियो ।

दोस्रो चरणमा पराजित भएपछि रिपाचेजको मौका पाउनुभएकी उहाँले फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले हराउँदै कांस्यको भिडन्त पक्का गर्नुभएको थियो । त्यसपछि उहाँले अन्तिममा सर्वियाकी मारिजालाई स्तब्ध बनाउँदै कांस्य पदक आफ्नो पोल्टामा पार्नुभएको थियो ।

सम्बन्धित समाचार

सबै