काठमाडौं, असोज २ गते । नेपाल राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंक नोट आज (शुक्रबार)देखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोट साविककै आकार र रङमा जारी गरिएको हो। यसमा ‘ट २४, ०००००१’ देखि ‘ण ७०, ९९९९९९’ सम्मका संकेत नम्बर भएका बैंक नोट चलनचल्तीमा ल्याइनेछन्।
नयाँ नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याइएको उल्लेख गरिएको छ। नोटको अगाडिको मध्यभागमा नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको जमानतसम्बन्धी प्रतिज्ञामूलक वाक्यांश राखिएको छ भने बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप समावेश गरिएको छ। पानीछापको तल ‘५०’ अंकित पानीछापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ।
नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। साथै, १.२ मिलिमिटर चौडाइको कागजमा बुनिएको सुरक्षा धागो राखिएको छ, जसलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने र त्यसमा ‘एनआरबी’ लेखिएको हुन्छ।
नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ। चित्रको माथिल्लो भागमा ‘नेपाल राष्ट्र बैंक’ र तल्लो भागमा ‘Rupees Fifty’ तथा ‘2025 AD’ उल्लेख गरिएको छ।
राष्ट्र बैंकले यसअघि २०७७ साल असार २२ गते २०१९ सिरिजको ५० रुपैयाँ दरको बैंक नोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो। उक्त सिरिजअन्तर्गत ‘ज ८९, ०००००१’ देखि ‘ट २३, ९०००००’ सम्मका संकेत नम्बर भएका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।