काठमाडौं, २८ भदौ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ। मलेसियाको बायुमास क्रिकेट ओभलमा शनिबार सम्पन्न फाइनलमा शानदार जित निकाल्दै नेपालले दोस्रोपटक एसिया कप क्रिकेट खेल्ने अवसर पनि सुनिश्चित गरेको हो।
नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो। ३१५ रनको लक्ष्य पछ्याएको यूएई ४९ ओभरमै सबै विकेट गुमाउँदै २६९ रनमा समेटियो र नेपाल ४४ रनले विजयी बन्यो।
नेपालको जितमा ओपनर आसिफ शेख नायक बने। उनले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमालले ४३ रनको योगदान दिए भने गुल्सन झाले ३८ बलमा ५५ रनको आक्रामक अर्धशतक प्रहार गरे। पूर्वकप्तान रोहितकुमार पौडेलले ४० रन बनाएर नेपालको इनिङ्सलाई बलियो आधार दिए।
नेपालको इनिङ्समा तीन महत्वपूर्ण साझेदारी बने। आसिफ र अर्जुनबीच पहिलो विकेटका लागि ९७ रनको साझेदारी भयो। त्यसपछि आसिफ र रोहितले तेस्रो विकेटका लागि ६८ रन तथा रोहित र गुल्सनले चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्दै नेपाललाई ३ सय रन पार गराए। अन्तिममा बसिर अहमदले अविजित १५ रन थपे।
बलिङतर्फ यूएईका अबरार अहमदले ४ विकेट लिए पनि नेपालको ठूलो स्कोर रोक्न सकेनन्।
जवाफी ब्याटिङमा यूएईका राहुल चोप्राले १०५ बलमा अविजित १०० रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। सोहाइब खानले ५२ तथा तानिस सुरीले ४२ रन बनाए।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। करण केसीले सर्वाधिक ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट हात पारे। कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद र गुल्सन झाले समान १–१ विकेट लिए।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कप्तान सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। उनले ६ खेलमा सर्वाधिक १७ विकेट लिएर नेपालको उपाधि यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरे।
यस जितसँगै नेपालले सन् २०२७ को एसिया कप खेल्ने स्थान सुरक्षित गरेको छ। अब नेपालले बंगलादेशमा हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ।
फाइनलमा पराजित भएसँगै प्रतियोगिताभर अपराजित रहेको यूएईको यात्रा पनि समाप्त भएको छ। नेपालले भने समूह चरणमा हङकङसँग एक खेल गुमाए पनि सेमिफाइनलमा ओमानलाई हराउँदै फाइनल पुगेको थियो र निर्णायक खेलमा यूएईलाई पराजित गर्दै उपाधिसहित एसिया कपको टिकट हात पारेको हो।