काठमाडौं, असार २८ । फिफा विश्वकप २०२६ अब निर्णायक मोडमा पुगेको छ। ४८ टोलीबाट सुरु भएको विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा अब केवल चार टोली मात्र बाँकी छन्। फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप उपाधितर्फको यात्रा जारी राखेका छन्।
क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हरायो भने स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। यस्तै इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले हराउँदा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो।
अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना बीच रोमाञ्चक भिडन्त हुनेछ।
सन् २०१८ को विश्वविजेता तथा २०२२ को उपविजेता फ्रान्सले यस संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै लगातार तेस्रोपटक सेमिफाइनलमा स्थान बनाएको छ।
समूह चरणदेखि क्वाटरफाइनलसम्म प्रभावशाली प्रदर्शन गरेको फ्रान्सका कप्तान किलियन एमबाप्पे आठ गोलसहित गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्। ओस्मान डेम्बेलेले पाँच गोल गर्दै टोलीको आक्रमणलाई थप बलियो बनाएका छन्।
डिडियर डेसच्याम्पको टोली अब स्पेनलाई पराजित गर्दै लगातार दोस्रो विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ।
प्रतियोगिताको सुरुवात अपेक्षाअनुसार नभए पनि स्पेनले त्यसपछि लगातार उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको छ।
क्वाटरफाइनलमा बेल्जियमविरुद्ध कठिन संघर्षपछि २–१ को जित निकालेको स्पेनका लागि मिकेल ओयारजाबाल, लामिन यामाल, रोड्री, फाबियन रुइज तथा मिकेल मेरिनो उत्कृष्ट लयमा छन्।
सन् २०१० पछि दोस्रो विश्वकप उपाधिको खोजीमा रहेको स्पेन अब फ्रान्सलाई चुनौती दिने तयारीमा छ।
सन् १९६६ पछि विश्वकप जित्न नसकेको इंग्ल्यान्ड यसपटक उपाधिबाट केवल दुई जित टाढा पुगेको छ।
जुड बेलिङ्घम र कप्तान ह्यारी केन उत्कृष्ट लयमा छन्। बेलिङ्घमले नर्वेविरुद्ध अतिरिक्त समयमा निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्याएका थिए।
प्रशिक्षक थोमस टुखेलको टोली अब साविक विजेता अर्जेन्टिनालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा छ।
साविक विजेता अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप जित्ने अभियानलाई सेमिफाइनलसम्म पुर्याएको छ।
३९ वर्षीय लियोनल मेसी आठ गोलसहित प्रतियोगिताका सर्वाधिक गोलकर्तामध्ये एक हुन्। जुलियन अल्भारेज, लाउतारो मार्टिनेज, एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टरले पनि उत्कृष्ट साथ दिएका छन्।
यदि अर्जेन्टिनाले इंग्ल्यान्डलाई पराजित गर्यो भने मेसीले आफ्नो सम्भावित अन्तिम विश्वकपमा लगातार दोस्रो पटक फाइनल खेल्ने अवसर पाउनेछन्।
सेमिफाइनलमा पुगेका चारै टोली यसअघि विश्वकप जितिसकेका राष्ट्र हुन्।
अब दुई सेमिफाइनलपछि दुई टोलीको यात्रा समाप्त हुनेछ भने विजयी दुई टोली जुलाई १९ मा न्युयोर्क–न्युजर्सी मा हुने विश्वकप फाइनलमा आमनेसामने हुनेछन्।
विश्व फुटबलका चार शक्तिशाली टोली, विश्वकै चर्चित स्टार खेलाडी र एउटा मात्र लक्ष्य फिफा विश्वकप २०२६ को उपाधि।