काठमाणडाै १२ मंसिर । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध कठिन परिस्थितिबाट उबिँदै तीन विकेटको रोमाञ्चक जित हात पारेको छ। त्रिवि क्रिकेट रंगशालामा १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले एक बल बाँकी रहँदै सात विकेट गुमाएर १६३ रन बनाउन सफल भयो।
विराटनगरको जितमा बसिर अहमद ‘म्यान अफ द मोमेन्ट’ बने। उनले ४३ बलमा ६२ रनको शानदार अर्धशतक प्रहार गर्दै टोलीलाई कठिन क्षणमा सम्हाले। तीन छक्का र तीन चौकासहित उनले नन्दन यादवको बलमा छक्का प्रहार गर्दै खेल समाप्त गरिदिए। खेलको ११.६ ओभरमा विराटनगर ६५–५ को नाजुक अवस्थाबाट पुनरागमन गरेको थियो।
त्यसपछि बसिर र नारायण जोशीले छैटौँ विकेटका लागि ६९ रनको कीर्तिमानी साझेदारी गर्दै खेलको मोड बदलिदिए। नारायणले १६ बलमा २५ रन जोडे, जसमा दुई चौका र एक छक्का समावेश थियो। शुरुआती चरणमा विराटनगरले ६३ रनमै शीर्ष चार विकेट गुमाएको थियो। कर्णालीले दिएको २१ अतिरिक्त रन पनि विराटनगरका लागि वरदान सावित भयो। स्लो ओभर रेटका कारण कर्णालीले पेनाल्टीसमेत भोग्नुपरेको थियो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सका ओपनर प्रियांक पाञ्चालले ४७ बलमा ६३ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ६ चौका र दुई छक्का प्रहार गरे। विलियम बोसिस्टोले ४८ रन, गुल्सन झाले १० बलमा २० तथा नजिबुल्लाह जार्दानले ६ बलमा १२ रन जोडे। तर, यी रन कर्णालीलाई जित दिलाउन पर्याप्त ठहरिएनन्।
विराटनगरका लागि मार्चान्ट डे लागें र सन्दीप लामिछानेले एक–एक विकेट लिए। कर्णालीका सोमपाल कामी र गुल्सन झाले दुई–दुई विकेट हात पारे भने पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले एक–एक विकेट जोडे।
जितसँगै विराटनगर किंग्स आठ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। कर्णाली दुई अंकका साथ पाँचौँ स्थानमा छ। आजैको पहिलो खेलमा चितवन राइनोजलाई हराएको काठमाडौं गोर्खाज ६ अंकसहित तेस्रो स्थानमा रहेको छ। चितवन राइनोज ४ अंकका साथ चौथो स्थानमा छ।
एनपीएलको प्रतिस्पर्धात्मकता उकालो लागिरहेको अवस्थामा आजको खेलले दर्शकलाई अन्तिम बलसम्म रोमाञ्चक क्षणहरू प्रदान गर्यो।













