काठमाण्डाै, असार ९ गते ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनलाई नयाँ राजनीतिक संस्कारको नमुना बनाउने दाबी गरे पनि कार्यक्रम सञ्चालनमा देखिएको ढिलासुस्तीले प्रतिनिधिहरूबीच असन्तोष बढाएको छ।

पार्टीको चौथो स्थापना दिवसको अवसरमा असार ७ गते चितवनको भरतपुरमा सुरु भएको महाधिवेशन निर्धारित तालिका अनुसार अघि बढ्न नसक्दा कार्यतालिका दुईपटक संशोधन गर्नुपरेको छ। बन्दसत्र समेत तोकिएको समयभन्दा ढिलो सुरु भएपछि प्रतिनिधिहरूले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउन थालेका छन्।
महाधिवेशनस्थलमा बढ्दो गर्मी र अतिरिक्त बसाइका कारण खर्च बढेपछि केही प्रतिनिधिहरूले अन्य दलको महाधिवेशन र रास्वपाबीच फरक देखिन नसकेको टिप्पणी गरेका छन्। “यदि कार्यतालिका निरन्तर सारिँदै जाने हो भने नयाँ राजनीतिक संस्कारको दाबीको अर्थ के रह्यो?” भन्ने प्रश्न प्रतिनिधिहरूले उठाएका छन्।
उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले विगतका दलहरूले गरेका गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाएका थिए। उनले महाधिवेशनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउने दाबी गरे पनि आन्तरिक व्यवस्थापनमा चुनौती देखिएको छ।
पार्टीभित्र नेतृत्व चयनको विषयमा समेत मतभेद देखिएको स्रोतहरू बताउँछन्। सर्वसम्मतिका नाममा केही पदाधिकारी चयन प्रक्रिया नेतृत्वकेन्द्रित भएको भन्दै केही नेताहरूले असन्तोष जनाएका छन्। यद्यपि सार्वजनिक रूपमा ठूलो विवाद वा झडप भने देखिएको छैन।

महाधिवेशन लम्बिँदै गएपछि सभापति लामिछानेले प्रतिनिधिहरूलाई सम्बोधन गर्दै राजनीतिक संस्कार परिवर्तन नभएसम्म अपेक्षित परिणाम आउन नसक्ने स्वीकार गरेका छन्। उनले अतिरिक्त दिन बस्नुपरेकाले प्रतिनिधिमाथि आर्थिक भार परेको उल्लेख गर्दै तोकिएको पाँच हजार रुपैयाँ शुल्क ऐच्छिक बनाउने घोषणा समेत गरेका छन्।
लामो समयसम्म उम्मेदवारी दर्ता प्रक्रिया सुरु नहुँदा कतिपय प्रतिनिधि दिनभर प्रतीक्षामा बस्न बाध्य भएका छन्। महाधिवेशनस्थल वरपर प्रतिनिधिहरू समय बिताउन विभिन्न गतिविधिमा संलग्न देखिएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार नेपालका अधिकांश राजनीतिक दलहरूमा नेतृत्व चयन, पद बाँडफाँट र गुटगत स्वार्थका कारण महाधिवेशन प्रभावित हुने परम्परा रहँदै आएको छ। उनीहरू रास्वपामा देखिएको अवस्था पनि त्यही प्रवृत्तिको निरन्तरता हुन सक्ने बताउँछन्।
नागरिक अगुवा डा. अनुप सुवेदीका अनुसार पार्टीहरूमा व्यक्तिकेन्द्रित राजनीति हाबी हुँदा संस्थागत लोकतन्त्र कमजोर बन्ने गरेको छ। त्यस्तै, राजनीतिशास्त्री सुचेता प्याकुरेलले नेतृत्वले संगठनभन्दा व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्तिका कारण यस्ता समस्या दोहोरिने गरेको टिप्पणी गरेकी छन्।
रास्वपाले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आए पनि पहिलो महाधिवेशनकै क्रममा देखिएका चुनौतीहरूले पार्टीको आन्तरिक लोकतन्त्र र व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाएको छ। अब नेतृत्वले बढ्दो असन्तोषलाई कसरी सम्बोधन गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
