भारतमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, व्यापारदेखि ऊर्जा सहकार्यसम्म छलफल

0 Shares

काठमाडौं, जेठ २३ ।  परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकर बीच भारतमा औपचारिक भेटवार्ता भएको छ।

भारतको औपचारिक भ्रमणमा रहेका मन्त्री खनाल र विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डलबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भइरहेको जनाइएको छ। भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै भेटवार्ताको जानकारी सार्वजनिक गरेका छन्।

भारतीय विदेशमन्त्री जयशंकरको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल शुक्रबार भारत प्रस्थान गरेका थिए। उनको भ्रमण २४ जेठसम्म जारी रहने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल र भारतबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। विशेषगरी द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन, कनेक्टिभिटी विस्तार, ऊर्जा सहकार्य तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय प्राथमिकतामा रहेका छन्।

नेपाल र भारत बीच पछिल्ला वर्षहरूमा ऊर्जा व्यापार, पूर्वाधार विकास, सीमा क्षेत्रका परियोजना तथा आर्थिक सहकार्यका क्षेत्रमा उल्लेखनीय प्रगति भएको सन्दर्भमा उच्चस्तरीय भेटवार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ।

कूटनीतिक तथा आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित भइरहेको यस भ्रमणबाट दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने विषयमा सकारात्मक निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै