वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता, खोजीका लागि चितवनसम्म टोली परिचालन
0
Shares
वालिङ (स्याङ्जा), जेठ १ गते ।पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बुधबार बिहानदेखि बेपत्ता हुनुभएको छ । ६८ वर्षीय श्रेष्ठ बिहान करिब १० बजेदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उहाँको अन्तिम लोकेशन चितवनको शहिद चोक भरतपुर क्षेत्रमा देखिएको छ । त्यसपछि उहाँसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा खोजी कार्य तीव्र बनाइएको प्रहरीको भनाइ छ ।
श्रेष्ठ लामो समयसम्म स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा अध्यापन गरेर राजनीतिमा सक्रिय हुनुभएको थियो । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पुतलीबजार नगरपालिका–३ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
वडा अध्यक्ष श्रेष्ठको खोजीमा सहयोग गर्न नगरप्रमुख तुलसीराम रेग्मीले सर्वसाधारणसँग आग्रह गर्नुभएको छ । उहाँले श्रेष्ठलाई “बौद्धिक तथा उच्च मनोबलका साथ निरन्तर काममा खटिने जनप्रतिनिधि” भन्दै शीघ्र खोजीका लागि सहयोग गर्न अपिल गर्नुभएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाका अनुसार नगरप्रमुख रेग्मी सहितको टोली खोजी कार्यका लागि चितवनतर्फ गएको छ । प्रहरी, जनप्रतिनिधि, आफन्त तथा स्थानीयवासीको सहकार्यमा खोजी अभियान सञ्चालन भइरहेको बताइएको छ ।