प्रचण्डको घोषणा: रुकुमपूर्वबाटै चुनाव लड्ने करिब निश्चित

0 Shares

रुकुमपश्चिम, पुस २६ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफू रुकुमपूर्वबाट उम्मेदवार बन्ने करिब निश्चित भएको बताएका छन् ।

रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ बराहाटाकुरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक दाहालले रुकुमका जनताको दुःख–सुखमा साथ दिन र काँधमा काँध मिलाएर अघि बढ्न आफू रुकुमबाटै चुनाव लड्ने सोचमा पुगेको स्पष्ट पारे ।

पार्टी एकतापछि पहिलो पटक रुकुममा आयोजना गरिएको सभामा उहाँले रुकुमको विकासलाई नयाँ ढंगबाट अघि बढाउने चाहना व्यक्त गर्नुभयो । रुकुमका जनताले जनयुद्धदेखि जनआन्दोलनसम्म खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै उहाँले जनताको साथ र विश्वासलाई राजनीतिक जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्नुभयो ।

सभामा बोल्दै दाहालले तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि कम्युनिस्ट विचार र मार्क्सवादप्रति धोका दिएको आरोप लगाए । उहाँले शर्माले गल्ती गरेकाले युवानेता गोपाल शर्मालाई अघि सारिएको बताउँदै रुकुमका जनताले पार्टीको विचार, सिद्धान्त र जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने नेतृत्व पाएको दाबी गर्नुभयो ।

दाहालले विगतको तुलनामा रुकुमका जनता पार्टीप्रति अझ जिम्मेवार बनेको उल्लेख गर्दै पलायनवादी र अराजकतावादी प्रवृत्तिको पछि नलागेको प्रमाणित भएको बताए । मध्यपहाडी लोकमार्ग अभियानका क्रममा केही नेताहरू विचलित भए पनि रुकुमका जनता पार्टीको विचारबाट डगमगाएनन् भन्ने कुरा आफूले पहिल्यै भनेको स्मरण गराउँदै अहिले पनि रुकुम एकताबद्ध भएर पार्टी नेतृत्वको साथमा उभिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा देखिएको ठूलो सहभागिता र जनसमर्थनले रुकुमका जनताले सधैं अग्रपंक्तिमा रहेर संघर्षको भूमिका निभाएको पुष्टि भएको दाहालले बताए । देशको वर्तमान अवस्था केही असहज र असाधारण रहेको उल्लेख गर्दै उहाँले १७ बाम घटक दल मिलेर परिस्थितिलाई सहज बनाउने शक्ति निर्माणमा जुटिरहेको जानकारी दिनुभयो ।

एकता सभामा सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले क्रान्तिकारी एकताको अभियानले देशभर उत्साह, भरोसा र उमंग सिर्जना गरेको बताए । नेकपाप्रति जनताको आशा बढेकाले परिवर्तनकामी शक्तिहरू एकढिक्का हुनुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टी एकताबाट अलग भएका नेताहरूप्रति संकेत गर्दै सहसंयोजक नेपालले काँध थाम्न नसक्नेहरूलाई रामराम भन्न सकिने टिप्पणी गर्नुभयो ।

सम्बन्धित समाचार

सबै