काठमाडौँ, असोज १ गते । हिन्दू धर्मावलम्बीहरूले आज आश्विन सङ्क्रान्तिको अवसरमा विश्वकर्मा पूजा श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। हरेक वर्ष असोज १ गते मनाइने यस पर्वमा सवारीसाधन, उद्योग–कलकारखानामा प्रयोग हुने मेसिन, धातुजन्य उपकरण तथा विभिन्न औजारहरूको विशेष पूजा गर्ने परम्परा रहेको छ।
कालिगड, मेकानिक, चालक, उद्योग–कलकारखानामा कार्यरत श्रमिक तथा प्राविधिकहरूले आफ्ना काममा प्रयोग हुने औजार र उपकरणको पूजा गरी भगवान् विश्वकर्माप्रति आस्था व्यक्त गर्ने गर्छन्। यस दिन पूजा गरेमा काम गर्ने क्रममा दुर्घटना नहुने, चोटपटकबाट जोगिने तथा व्यवसायमा समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
पौराणिक मान्यताअनुसार समुद्र मन्थनबाट प्रकट भएका भगवान् विश्वकर्मालाई देवताहरूका दिव्य वास्तुकारका रूपमा मानिन्छ। द्वापरयुगमा भगवान् श्रीकृष्णको आग्रहमा समुद्रको बीचमा द्वारका नगरी निर्माण गरी संरक्षण गरेको धार्मिक किंवदन्ती पनि प्रचलित छ। यही विश्वासका आधारमा विश्वकर्मा पूजाको परम्परा चलिआएको मानिन्छ।
विश्वकर्मा पूजाका अवसरमा काठमाडौँ उपत्यकाका भद्रकाली, मैतीदेवी तथा ललितपुरस्थित महालक्ष्मी मन्दिरलगायत विभिन्न शक्तिपीठमा सवारीसाधन र उपकरणको विशेष पूजाआजा गरिन्छ। साथै सरकारी तथा निजी कार्यालय, उद्योग–कलकारखाना, निर्माण कम्पनी र ग्यारेजहरूमा समेत विधिपूर्वक पूजा सम्पन्न गर्ने चलन रहेको छ।
विश्वकर्मा पूजाले श्रम, सीप, प्रविधि र उत्पादनसँग जोडिएका सबै क्षेत्रप्रति सम्मान व्यक्त गर्दै सुरक्षित र सफल कार्यसम्पादनको कामना गर्ने सन्देश दिने विश्वास गरिन्छ।