काठमाडौँ, कात्तिक १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजी (GenZ) का प्रतिनिधिबीच त्रिपक्षीय संवाद आह्वान गर्नुभएको छ । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपश्चात् पहिलो पटक सरकारको पहलमा यस्तो उच्चस्तरीय संवाद हुन लागेको हो ।
प्रधानमन्त्री कार्कीको पहलमा आज (बुधबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने संवाद बैठकमा आगामी निर्वाचनको वातावरण, राजनीतिक सहमति र स्थायित्वका विषयमा छलफल हुनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्रीको आह्वानमा आयोजना गरिएको यो बैठक आगामी निर्वाचन सफल बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजीबीचको पहिलो औपचारिक संवाद हो ।
उहाँले भन्नुभयो, “निर्वाचनको सफल तयारीका लागि सरकार सम्बद्ध सबै पक्षसँग चरणबद्ध छलफल गर्दैछ । आजको बैठक त्यसैको निरन्तरता हो ।”
सरकारले निर्वाचनको समयतालिका निर्धारण, आयोगको तयारी, सुरक्षा संयन्त्र र राजनीतिक सहकार्यका विषयमा सरोकारवालासँग विस्तृत छलफल अघि बढाएको जनाएको छ ।
प्रधानमन्त्री कार्कीले यसअघि कात्तिक ४ गते नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग पनि संवाद गर्नुभएको थियो ।
उक्त बैठकमा राजनीतिक दलहरूले निर्वाचन समयमै सम्पन्न गर्न वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री कार्यालयका अनुसार कार्कीले जेनजी प्रतिनिधिहरूसँग पनि निरन्तर सम्पर्क र छलफल गरिरहेकी छन् । उहाँले विद्रोहपछिको अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै शान्तिपूर्ण राजनीतिक संक्रमणबाट अघि बढ्ने अठोट दोहोर्याउनुभएको छ ।
सरकारले निर्वाचन आयोगसँग पनि चरणबद्ध छलफल गरी आवश्यक प्राविधिक तयारीको गृहकार्य अघि बढाएको छ । आयोगले मतदाता सूची अद्यावधिक, कर्मचारी तालिम, सुरक्षा समन्वय र कानुनी व्यवस्थाबारे प्रारम्भिक योजना तयार गरिसकेको जनाएको छ ।
आजको त्रिपक्षीय संवादको प्रमुख उद्देश्य आगामी निर्वाचनका लागि साझा समझदारी कायम गर्नु, जेनजी विद्रोहपछिको राजनीतिक वातावरणलाई स्थायित्वतर्फ लैजानु र समावेशी राजनीतिक सहकार्यका लागि आधार तयार गर्नु रहेको बताइएको छ ।
सरकारका अनुसार संवादबाट उत्पन्न हुने सकारात्मक निष्कर्षले आगामी निर्वाचनको विश्वसनीयता र स्थायित्व दुवैमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।