काठमाडौँ, असोज २९ गते। नेपाल आइसिसी टी–२० विश्वकपमा तेस्रो पटक प्रवेश गर्न सफल भएको छ। ओमानमा जारी एसिया तथा इस्ट एसिया–प्यासिफिक (EAP) छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपालले विश्वकपको टिकट पक्का गरेको हो।
यससँगै नेपालले सन् २०१४ र २०२४ पछि लगातार दोस्रो पटक विश्वकप खेल्ने अवसर प्राप्त गरेको छ। अब नेपालले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा सहभागिता जनाउनेछ।
नेपालसँगै आयोजक राष्ट्र ओमान पनि विश्वकपमा छनोट भइसकेको छ। यी दुवै टोलीले बाँकी दुई खेल खेल्नु अघि नै विश्वकप यात्रा सुनिश्चित गरेका हुन्।
सुपर सिक्सको खेलमा यूएईले सामोआलाई दुई सय २६ रनको विशाल लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा सामोआ निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रनमा सीमित रह्यो। सो नतिजासँगै नेपाल र ओमान विश्वकपमा पुगेका हुन्, भने अब यूएई र जापानबीच बाँकी एक स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
सुपर सिक्सको अंकतालिकामा नेपाल र ओमान समान ६–६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन्। यूएईले चार अंक जोडेको छ। नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ भने अन्तिम खेल शुक्रबार सामोआविरुद्ध खेल्नेछ।