इसराइल–हमास युद्ध अन्त्य : ट्रम्पको घोषणा, गाजामा शान्तिको नयाँ अध्याय सुरु

0 Shares

 वाशिङ्टन २८ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई वर्षदेखि जारी इसराइल–हमास युद्ध अन्त्य भएको घोषणा गरेका छन्। युद्धविराम सम्झौतापछि बन्धक र बन्दीहरू फिर्ता भएपछि ट्रम्पले मध्यपूर्वमा नयाँ शान्तिको सुरुवात भएको दाबी गरेका हुन्।

सम्झौता अनुसार सोमबार इसराइलले प्यालेस्टिनी बन्दी बोकेका बसहरू स्वदेश पठायो भने हमासले गजाबाट जीवित बन्धकहरू मुक्त गर्‍यो। बन्धक फिर्ता भएलगत्तै ट्रम्पले इजिप्टमा एक उच्चस्तरीय शान्ति सम्मेलन बोलाए।

इजिप्टको समुद्री रिसोर्ट शर्म अल-शेखमा भएको सम्मेलनमा २० भन्दा बढी विश्व नेताहरू सहभागी भए। इजिप्ट, कतार र टर्कीको मध्यस्थतामा भएको सम्झौतामा सबै पक्षले हस्ताक्षर गरी गाजाको पुनर्निर्माण, शासन र सुरक्षाको खाका तय गर्ने सहमति जनाए।

सम्मेलनमा बोल्दै ट्रम्पले भने, “अब पुनर्निर्माण सुरु हुन्छ। यो सम्झौता सबैभन्दा ठूलो र ऐतिहासिक हुनेछ।” उनले गाजाको पुनःस्थापनालाई मध्यपूर्वमा स्थायी शान्तिको दिशामा महत्वपूर्ण कदम भनेका छन्।

तर इसराइल र हमासका प्रतिनिधि सम्मेलनमा उपस्थित थिएनन्। साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूले पनि भाग लिएनन्। रोयटर्सका अनुसार दुवै पक्षले अझै आगामी राजनीतिक सहमतिबारे स्पष्ट धारणा दिएका छैनन्।

युद्धविरामको पहिलो चरणमा अमेरिकाले इजिप्ट, कतार र टर्कीसँग मिलेर बन्धक र कैदीहरूको रिहाइका लागि मध्यस्थता गरेको थियो। इजिप्टको राष्ट्रपति अब्देल फताह अल–सिसी र ट्रम्पले संयुक्त रूपमा शान्ति प्रक्रियालाई दिगो बनाउने प्रतिवद्धता जनाएका छन्।

इजिप्टको राष्ट्रपति कार्यालयका अनुसार छलफलमा गाजाको शासन, सुरक्षा, पुनर्निर्माण र दीर्घकालीन स्थायित्वबारे गहिरो छलफल गरिएको छ।

ट्रम्पले शिखर सम्मेलनको समापनमा भने, “मध्यपूर्वमा नयाँ युग सुरु भएको छ, जहाँ युद्ध होइन, सहकार्य र पुनर्निर्माण हुनेछ।”

यससँगै गाजाको युद्ध अन्त्यसँगै विश्वले ट्रम्पको मध्यस्थतालाई मध्यपूर्वमा शान्तिको नयाँ मोडका रूपमा हेरिरहेको छ।

सम्बन्धित समाचार

सबै