काठमाडौं २८ असोज । गत २३ र २४ भदौमा भएको जेन–जी प्रदर्शनमा घाइते भएकाको उपचारमा हालसम्म एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सामान्यदेखि गम्भीर अवस्थाका घाइतेको उपचारमा निजी र सरकारी दुवै अस्पतालमा ठुलो रकम खर्च भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, अहिले पनि २४ जना घाइतेको उपचार विभिन्न अस्पतालमा जारी छ । तीमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा, त्रिवि शिक्षण, वीर र केएमसीमा तीन–तीन जना, बी एन्ड बीमा दुई जना, र पाटन अस्पताल तथा नोबेल मेडिकल कलेजमा एक–एकजनाको उपचार भइरहेको छ ।
‘अहिलेसम्मको आकलनअनुसार उपचारमा एक अर्बभन्दा बढी खर्च भइसकेको छ,’ डा. बुढाथोकीले बताए, ‘घाइतेमा धेरैजसोको गम्भीर चोट भएकाले उपचार लामो र खर्चिलो भइरहेको छ । फलोअपमा आउने बिरामी पनि धेरै छन्, त्यसैले खर्च अझै बढ्नेछ ।’
स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई पत्राचार गरी जेन–जी आन्दोलनमा घाइते भएकाबाट कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयले उपचारमा लागेको रकम अस्पताललाई सोझै भुक्तानी गर्ने जनाएको छ ।
‘कसैले पनि अस्पताललाई पैसा तिर्नु पर्दैन,’ बुढाथोकीले भने, ‘सरकारले सबै खर्च व्यहोर्छ ।’
स्वास्थ्य मन्त्रालयले गठन गरेको घाइते वर्गीकरण प्राविधिक समितिले सोमबारको बैठकमा घाइतेहरूको अवस्था र इन्जुरीको प्रकार अनुसार वर्गीकरण गर्ने निर्णय गरेको छ । समितिले अंग गुमाएका र स्थायी अपाङ्गता भोगिरहेका घाइतेको विस्तृत विवरण तयार गरिरहेको छ ।
हालसम्मको तथ्यांकअनुसार —
एक खुट्टा गुमाउने : ६ जना
एक हात गुमाउने : १ जना
एक आँखा गुमाउने : १ जना
एक कान गुमाउने : १ जना
कम्मरमुनि नचल्ने : १ जना
चारै हातखुट्टा नचल्ने : १ जना
छातीमा गोली लागेका : ६० भन्दा बढी
पेटमा गोली लागेका : १५ भन्दा बढी
यीसहित करिब दुई सयभन्दा बढी घाइतेमा गम्भीर इन्जुरी देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
निजी अस्पतालहरूले उपचार खर्च सरकारसँग माग गर्न थालेका छन् । ह्याम्स, केएमसी र बी एन्ड बी अस्पतालले पहिले नि:शुल्क उपचार गर्ने बताएको भए पनि अहिले मन्त्रालयसँग भुक्तानी माग गर्दै विवरण पेश गरेका छन् ।
‘कतिपय अस्पतालले बिरामी डिस्चार्ज गर्दा शुल्क मागेका थिए, हामीले तत्काल रोक्न भनेका छौं,’ बुढाथोकीले स्पष्ट पारे, ‘तर अब ती अस्पतालहरूले खर्च विवरण पठाउँदै छन् ।’
उनका अनुसार, केही घाइतेलाई धेरैपटक शल्यक्रिया (अपरेसन) गर्नुपरेको छ भने कतिपयलाई सघन कक्षमा महिनौँसम्म राख्नुपर्ने अवस्था छ । कृत्रिम खुट्टा, हात र कान जडान गर्नुपर्ने घाइते पनि धेरै छन् ।
सरकारले सबै घाइतेलाई प्रारम्भिक रूपमा २० हजार रुपैयाँ राहत वितरण सुरु गरिसकेको छ । तर, गम्भीर घाइतेका लागि थप राहत र दीर्घकालीन उपचार सहयोगको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यसबाहेक, त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभागमा ६ वटा कंकाल मात्रै बाँकी छन्, जसको पहिचान अहिलेसम्म हुन सकेको छैन । ती कंकालहरू भाटभटेनी डिपार्टमेन्ट स्टोरको जलेको भवनबाट भेटिएका हुन् ।
अस्पतालका सूचना अधिकारी अनुसार, ‘केही आफन्त आएर हराएका आफन्तका बारेमा जानकारी दिएका छन्, तर आवश्यक प्रमाण नहुँदा कंकाल जिम्मा लगाउन सकिएको छैन । सबैजसो जलेको अवस्थामा भएकाले पहिचान कठिन भएको छ ।’
जेन–जी प्रदर्शनमा २५ सयभन्दा बढी व्यक्ति घाइते भएका थिए । अहिले पनि दर्जनौँको उपचार जारी छ । सरकारका अनुसार उपचार खर्च अझै बढ्नेछ र घाइतेहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि नक्कली अंग, औषधि र पुनर्वासमा ठूलो बजेट आवश्यक पर्नेछ ।