काठमाडौं २७ असोज । सन्दीप लामिछानेको घातक बलिङ प्रदर्शनपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको कतार १९ ओभर ५ बलमै १४२ रनमा अलआउट भयो । एक समय सहज अवस्थामा पुगेको कतार अन्तिमतिर नेपालका बलरहरू सामु सम्हालिन सकेन ।
कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन र जुबेर अलीले ५२ रन जोडे पनि अन्य ब्याटरहरू ठूला योगदान दिन नसक्दा टोली पराजित भयो ।
नेपालका तर्फबाट सन्दीप लामिछानेले शानदार प्रदर्शन गर्दै ५ विकेट लिए । उनले आफ्नो चार ओभरको स्पेलमा मात्र २१ रन खर्चिए । नन्दन यादवले २ विकेट र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । खेलमा दीपेन्द्र र आदिलले निर्णायक रनआउट गरेर पनि नेपालको जितमा महत्वपूर्ण भूमिका खेले ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको सहारामा २० ओभरमा ९ विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो ।
कप्तान पौडेलले ४१ बलमा ५८ रनको जिम्मेवार पारी खेले । दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन र गुल्शन झाले अन्त्यतिर ८ बलमा १६ रनको उपयोगी योगदान दिए ।
बलिङतर्फ कतारका कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिँदै ३ विकेट लिए भने डानियल लुइसले पनि ३ विकेट हात पारे । मुहम्मद असिमले १ विकेट लिए ।
यसअघि नेपालले सुपर सिक्स चरणको पहिलो खेलमा यूएईलाई पराजित गरेको थियो । लगातार दोस्रो जितसँगै नेपालले विश्वकप छनोट फाइनलतर्फको यात्रालाई अझ सशक्त बनाएको छ ।