बुटवल, भदौ २९ । जेन–जी आन्दोलनका क्रममा तोडफोड र लुटपाटमा चोरी भएका सामान फिर्ता गर्न बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले सार्वजनिक आग्रह गरेको छ । आन्दोलनकै बेला कार्यालयमा धावा बोल्दै भीडले विभिन्न सामग्री चोरी गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चोरीमा संलग्नहरूले सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, फर्निचर, भाँडा–वर्तन मात्र नभई बरामद भएका कपडा, जुत्ता, भेप, सेक्स टोयज, मदिरा, चिनी, चामललगायतका सामग्री लगेका छन् । कार्यालयले संलग्न व्यक्तिहरूको पहिचान भइसकेको जानकारी दिँदै चोरीका सामान जसरी पनि फिर्ता गर्नुपर्ने जनाएको छ ।
जारी सूचनामा भनिएको छ, “कोही कसैले यस कार्यालयबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नुभएको भए राजस्व अनुसन्धान कार्यालय, बुटवल वा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिनुहुन अनुरोध छ । अन्यथा, कानूनबमोजिम कडाइका साथ कारबाही गरिनेछ ।”
राजस्व अनुसन्धान कार्यालयले आन्दोलनको नाममा तोडफोड, लुटपाट र अवैध क्रियाकलापलाई गम्भीर आपराधिक कार्यका रूपमा लिएको छ र सम्पत्ति फिर्ता नगरे कानूनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।













