“अब म सिंह दरबार जान्छु”

0 Shares
                                                                                          –  दुर्गा आचार्य 
आमा मलाई खुकुरी देऊ
बाबा मलाई बन्दुक देऊ
म अब सिंह दरबार जान्छु।
अब म सहन नसक्ने भएँ
साथीहरु बारूद पिस
दिदी बहिनीहरू बम बनाऊ
चक्कु ल्याऊ चिर मेरा पिँडुला
चिर मेरा तिघ्रा र राख बम
अब म सिंह दरबार जान्छु।
मलाई दुख्ने छैन म रुने छैन
म तातिने छैन म आतिने छैन
म डराउने छैन म थाक्ने छैन
मलाई अब नरोक
अब म सिंह दरबार जान्छु।
भ्रष्टाचार को बिरोध गर्दा
संविधानले दिएको अधिकार माग्दा
शान्तिपूर्ण आन्दोलन गर्दा
राज्यको हतियार राज्यको एस एल आर
उसको निधारमा पड्कियो
अनि छातीमा पड्कियो
ऊ ढल्यो अर्को ढल्यो अर्को ढल्यो अर्को ढल्यो…..
मलाई छर्रा देऊ ,मलाई गोली देऊ म निल्छु
बारुदले मेरो पेट भर, मेरो छाती भर
अब म सिंह दरबार जान्छु।
आमाले साझा सबेरै आउनु भनेर
संविधान पढ्न कलेज पठाएको छोरो
बा ले संविधान किन्न
पुस्तक पसल पठाएको छोरी
वाक स्वतन्त्रता खोज्न गएको मेरो भाई लाई खोज्न
अब म सिंह दरबार जान्छु।
न्याय माग्न अदालत हिँडेकी मेरी बहिनी ले
एक थान ऐन माग्न संसद भवन गएको भतिजो ले
न्याय माग्दा, ऐन माग्दा
लठ्ठी किन हान्यो
अश्रु ग्याँस किन हान्यो
राज्यको बर्दिधरीले गोली किन हान्यो
रगतको खोलो किन बगायो त्यो बुझ्न
म अब सिंह दरबार जान्छु।
भोलिका यो देशका आइष्टान ढले
मार्क्स ढले, माओ ढले, गान्धी ढले
एंगेल्स ढले, मस्क ढले , बिपी ढले
पुष्पलाल ढले,बुर्किना ढले
आखिर यी कसले र किन ढाल्यो?
आखिर उसले के पायो त्यो बुझ्न
अब म सिंह दरबार जान्छु।
ती नवयुबाको अन्तिम चित्कार
अन्तिम सास र मुटुको अन्तिम
धड्कनले के भनेर गयो
उसको आँखाको परेली के भनेर लत्रियो
नेपाल आमाको छाती भरी बगेको
उसको रगतले के भनिरहेको छ। सोध्न
अब म सिंह दरबार जान्छु।
हे न्यायलयहरुहो हे वकिलहरु हो
के यो देशमा न्याय हुँदैछ?
हे पशुपतिनाथ के यो न्याय हुँदैछ?
होइन भने खोलिदेऊ मेरा हात खुट्टाहरू
बनाई देऊ मेरा लामा लामा दाराहरु
बनाइदेउ मेरा लामा लामा नङ्ग्राहरु
भरिदेऊ मेरो ब्रेन मा साहस
भरिदेऊ मेरो शरीर भरी तागत अनि म
ती क्रूर शासक हरुको रगत पिउन
तिनीहरुलाई चिथोर्न, कोपर्न र चपाउन
अब म सिंह दरबार जान्छु।

सम्बन्धित समाचार

सबै