भदौ ५ गते । सडक सञ्जालमा जोडिएपछि दुर्गम हुम्लावासीको जीवन सहज बन्दै गएको छ । सडकमार्गकै कारण खाद्यान्न, निर्माण सामग्री र इन्धन सजिलै उपलब्ध हुन थालेको छ भने यसले विकास–निर्माणको सम्भावना पनि विस्तार गरेको छ ।
राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ स्थित च्वाखोला नदीमा बेलिब्रिज बनेर गत असार २२ गतेदेखि सञ्चालनमा आएपछि हुम्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुल उद्घाटन गरेसँगै २६ वर्षपछि हुम्ला बाँकी नेपालसँग सडकमार्गमार्फत प्रत्यक्ष जोडिएको हो ।
सडक यातायात सञ्चालनमा आएपछि सिमकोटमा यात्रुवाहक बस र ट्रक पुग्न थालेका छन् । यससँगै खाद्यान्नदेखि निर्माण सामग्री र पेट्रोलियम पदार्थसम्मको मूल्यपहिले सिमेन्ट प्रतिबोरा ८,५०० रुपियाँ पर्थ्यो भने हाल २,००० रुपियाँमै पाइन्छ ।
फलामे डन्डी प्रतिकेजी २८० बाट घटेर १२२ रुपियाँमा पुगेको छ ।
जस्तापाता २२ हजारको बन्डल हाल १३ हजार पाँच सयमा पाइन्छ ।
पेट्रोल प्रतिलिटर ५०० बाट घटेर २५० रुपियाँमा र डिजेल ४०० बाट घटेर १६५ रुपियाँमा पुगेको छ ।
खाना पकाउने ग्यास पनि ७,००० बाट घटेर नयाँ सिलिन्डर ४,५०० र भरेको २,७०० रुपियाँमा झरेको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार दैनिक उपभोग्य सामग्री समेत अघिल्लो मूल्यभन्दा प्रतिलिटर वा प्रतिकेजी ५०–१८० रुपियाँसम्म सस्तो भएको छ ।
सडकमार्ग खुल्नुअघि हुम्लावासीलाई खाद्यान्नका लागि बिहानैदेखि लाइन बस्नुपर्ने बाध्यता थियो । तर, अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पर्याप्त मात्रामा खाद्यान्न ढुवानी गर्न थालेपछि अभावको समस्या हटेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माका अनुसार पहिले हवाई ढुवानीको कारण निर्धारित कोटा पुग्दैनथ्यो, जसले गर्दा हुम्लावासी खाद्यान्न अभावमा पर्थे । तर अहिले पैदलमार्ग र सडकमार्ग खुल्दा आपूर्ति सहज भएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेका अनुसार हुम्लाको कुल ५५ हजारभन्दा बढी जनसंख्याका लागि निर्धारण भएको खाद्यान्न कोटा पर्याप्त छ । हाल डिपो र शाखामा गरेर झण्डै ७,१०१ क्विन्टल खाद्यान्न मौज्दात छ ।
गत आव २०८२/८३ मा मात्र लिमिटेड हुम्ला शाखाले १३ करोड १९ लाख रुपैयाँभन्दा बढीको १४ हजार ९३८ क्विन्टल खाद्यान्न बिक्री गरेको शाखा प्रमुख कृष्णबहादुर पुनमगरले जानकारी दिनुभयो ।
निर्माण व्यवसायी सरोज रावतका अनुसार सडकमार्ग सुरु भएपछि निर्माण सामग्रीमा मूल्य घट्दा योजनाको लागतसमेत कम भएको छ । यसले आगामी वर्षहरूमा विकास–निर्माणलाई गति दिने विश्वास लिइएको छ ।
सडक सञ्जालमा जोडिएसँगै हुम्लामा मूल्य सस्तो हुनुका साथै खाद्यान्न आपूर्ति सहज भएको छ । यसले हुम्लावासीलाई लामो समयदेखि झेल्दै आएको अभाव र महँगो जीवनशैलीबाट मुक्त गर्दै विकास र समृद्धिको नयाँ बाटो देखाएको छ ।