जुम्लामा स्याउकाे उत्पादन घट्दाे निर्यात बढ्दो

0 Shares

जुम्ला साउन २८ गते ।  जुम्लामा कुल कृषि उत्पादन केही वर्षयता घट्दै आए पनि, यहाँका उपजको बाहिरी बजारतर्फको पठानी भने वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट करिब २३ हजार टन कृषि उपज बाहिर पठाइएको छ, जसबाट ६९ करोड रुपैयाँभन्दा बढीको आम्दानी भएको हो।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार, सबैभन्दा ठूलो हिस्सा स्याउको निर्यातले ओगटेको छ। त्यसपछि मार्सी धान, ओखर, सिमी, कोदो, फापर, मकै र अन्य थरिथरीका रैथाने अन्नपात र फलफूल पर्ने गर्छन्। पछिल्लो वर्ष मात्रै २१ हजार टन स्याउमध्ये नौ हजार ३३१ टन बाहिरी बजार पठाइएकाले करिब ६६ करोड ६१ लाख रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए।

अन्य प्रमुख निर्यात वस्तुहरूमा ११ हजार ५५५ किलो मार्सी चामल, ९० हजार ६६० किलो आलु, ५५ हजार ८०९ किलो सिमी, २ हजार ५९० किलो ओखर, २ हजार ९१३ किलो भटमास, ६ हजार १५० किलो फापरको पिठो, १० हजार ४५० किलो जौको पिठो लगायतका वस्तुहरू रहेका छन्।

जुम्लामा हाल २ हजार ७४० हेक्टर क्षेत्रमा कोदो खेती भइरहेको छ, जसको प्रतिहेक्टर उत्पादकत्व १.४१ प्रतिशत पुगेको छ—यो राष्ट्रिय औसत १.३४ प्रतिशतभन्दा उच्च हो। तर, २०७९ सालको बाढीले मार्सी धान खेतीमा ठूलो क्षति पुर्‍याएपछि धान उत्पादनमा गिरावट आएको छ।

२०८१/८२ मा जिल्लामा कुल २४ हजार २३१ टन रैथाने बाली उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब आठ हजार टनले कम हो। तर, स्याउ उत्पादन भने लगातार बढ्दै आएको छ—गत वर्ष चार वर्षयताकै सबैभन्दा धेरै २१ हजार २७० टन स्याउ फल्न सफल भएको छ, जसबाट ६१ करोड रुपैयाँको आय भएको छ।

अधिकारीका अनुसार, सडक, सञ्चार र बजार पहुँच विस्तारले कृषिजन्य व्यापार सजिलो बनेको छ, तर भण्डारण सुविधा, प्रशोधन केन्द्र र मूल्य स्थायित्व अझै चुनौतीको रूपमा उभिएका छन्।

सम्बन्धित समाचार

सबै