कालिकोट, २३ साउन । धेरै लामो समयको संघर्ष र प्रयासपछि कालिकोटको प्रदेश ‘ख’ क्षेत्रमा अन्ततः इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ ।
नेकपा एमालेका युवा नेता राेकायाले यस निर्णयलाई नागरिक सहजताका लागि नेपाल सरकार गृह मन्त्रालयको सकारात्मक कदमको रूपमा स्वागत गरेका छन् ।
उनका अनुसार ढिलो भए पनि यो कार्यालय स्थापना हुनु लोककल्याणकारी राज्यको दायित्व, कर्तव्य र जिम्मेवारी भित्र पर्ने विषय हो ।
“यसमा कोही कसैले पनि अतिरञ्जना गर्नुपर्ने छैन, बरु अब जिम्मेवारीपूर्वक सेवा दिनुपर्छ,” नेता रोकेयाले भने ।अगुवा भइसकेपछि विभिन्न भूमिका निर्वाह गर्नु पर्ने उनले उल्लेख गर्दै भने, “जनतालाई ऋणको भारी बोकाएर तलबभत्ता, सेवासुविधा खानेहरू अझै नुनको सोझो गर्नुपर्ने समय आएको छ ।
दलगत व्यवस्थामा दलबाट प्रतिनिधित्व गर्नेहरूले पनि आफ्नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्नुपर्छ । गृहमन्त्रालयले इलाका प्रशासन कार्यालय रास्कोट नगरपालिकाभित्र केन्द्र रहनेगरी स्थापना गर्ने निर्णय गरेको स्पष्ट भएको छ ।
तर उनले पलाता, पचालझरना, शान्नीत्रिवेणी र नरहरिनाथका सम्पूर्ण नागरिकलाई सहज र पायक पर्ने स्थानका बारेमा समयमै गहन छलफल गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनका अनुसार, यदि समयमै यथार्थ बुझाएर सम्बन्धित निकायलाई जानकारी गराइएन भने भविष्यमा केन्द्रको स्थानका कारण समस्या सिर्जना हुन सक्ने सम्भावना रहन्छ ।
“केन्द्रको विषयमा प्रदेश ‘ख’ का स्थानीय सरकार, राजनीतिक दल र आम नागरिकहरूले गम्भीरतापूर्वक सोच्नु आवश्यक छ,” नेता रोकेयाले सबैलाई आग्रह गरे ।