– लक्ष्मण राेकाया
हे रारा!
तिमी कति सुन्दर छौ!
कविताका शब्दहरू थाक्छन् तिमीलाई बयान गर्न,
क्यानभासका रंगहरू चिसिन्छन् तिमीलाई चित्रण गर्न।
तर…
तिमीलाई नजिकबाट हेरेपछि थाहा भयो—
तिमी पनि थाकेका रहेछौ!
साँच्चै…
केवल तिमीको निलो रंग मात्र निलो होइन रहेछ,
तिमीभित्र लुकेका आँसुहरू पनि निला रहेछन्।
यो पानी त न मिठो छ, न खारो,
यो त एउटा चुपचाप क्रन्दन हो,
जसलाई राज्यका नीतिले बिर्सिएको छ,
जसलाई विकासका बजेटले धोका दिएको छ।
तिमीमाथि ‘राष्ट्रिय निकुञ्ज’को ट्याग टाँसिएको छ—
तर यहाँका आमाहरूले दाउरा खोज्न जङ्गल छिर्दा सास रोकेर जानुपर्छ।
बालकहरूका स्कूलमा शिक्षक छैन,
अस्पतालका चौरमा आमा मर्छे… ए रारा!
तिमीलाई हेरेर सन्तुष्ट हुनेहरूको हाँसो सुन्दासम्म,
तिमीभित्र खलबलिएको पीडा मलाई सुनिन्छ।
के सौन्दर्य सधैँ मौन पीडाको आवरण हो?
के ‘पर्यटन केन्द्र’ बन्नु भनेको आफ्नै आवाज गुमाउनु हो?
के राष्ट्रिय गौरव बन्नु, स्थानीय विस्थापनको पर्याय हो?
तिमी मलाई सुन्दैछौ, रारा?
यदि सुन्दैछौ भने…
एकदिन यस्तो होस्
जहाँ तिमीलाई हेर्न आउनेहरू
तिमीभित्र लुकेको आवाज पनि सुुनून्।
सिर्फ फोटो खिचेर फर्किनु होइन,
तिमीभित्रको मौनतासँग केही मिनेट मौन बसून्।
नेपालमा एउटा यस्तो ठाउँ छ, जहाँ नीलो तालले आकाशको छाया अँगाल्छ, हिमाली वायुले मुटु छुन्छ, अनि वनजङ्गलको हरियालीले जीवन झल्काउँछ त्यो हो रारा। मुगु जिल्लाको हृदयस्थलमा अवस्थित रारा ताल देशकै सबैभन्दा ठूलो ताल मात्र होइन, यो नेपालका लागि पर्यावरणीय, सांस्कृतिक र पर्यटनको दृष्टिले अमूल्य सम्पदा हो। तर राराको यो स्वर्गीय सौन्दर्यभित्र एक यथार्थ लुकेको छ । एक मौन पीडा, जुन स्थानीय बासिन्दाहरूको आँखाबाट पोखिन्छ, न बोलिने, न सुन्ने पीडा।
यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीं नपाइने ‘असला’ जातको माछा पाइन्छ।
राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।
ग्रीष्म ऋतुमा रारा ताल निकै सुन्दर छ तर जाडो हुन्छ। सबैभन्दा उत्तम भ्रमण गर्ने समय सेप्टेम्बर / अक्टोबर र अप्रिलदेखि मईसम्म हुन्छ। डिसेम्बरदेखि मार्च सम्म तापमान पनि जम्ने प्वाइन्ट भन्दा तल झर्छ। हिउँद मा भने १ मिटर सम्मको हिउँ पर्ने गरेको छ । बर्खा याम मा भने ८० मिलिमिटर सम्म को पानी परेको पर्ने गरेको छ सामान्यतया तालको सतहको तापमान ७.५ देखि ७.६ डिग्री सेल्सियस सम्म हुने गरेको छ।
जीवन प्रकृतिसँग अत्यन्त नजिक रहेको छ, तर आधुनिक विकासका अवसरहरू भने अत्यन्त टाढा छन्। त्यहाँका बासिन्दाहरूको मुख्य जीविकोपार्जनको माध्यम कृषि, पशुपालन र जडिबुटी संकलन हो। तर, रारा राष्ट्रिय निकुञ्ज बनेपछि तिनीहरूको जङ्गल प्रयोगमा कडा प्रतिबन्ध लगाइएको छ। आफ्नै जमिनमा खेती गर्न नपाउनु, घर पालुवा जनावर पाल्न कठिन हुनु, अनि वैकल्पिक जीविकाको साधन नहुनु यी सबैले उनीहरूको जीवनमा थप सास्ती थपेका छन्।
शिक्षाको अवस्था दयनीय छ। विद्यालय भए पनि गुणस्तरीय शिक्षा पाउने अवस्था छैन। अधिकांश विद्यालयहरू शिक्षकविहीन छन्, पाठ्यपुस्तक समयमा पुग्दैनन्, अनि पढाइको गुणस्तर अत्यन्त कमजोर छ। युवाहरू शिक्षाको उज्यालो खोज्दै शहरतिर पलायन भइरहेका छन्।
स्वास्थ्य सेवाको अवस्था झनै दुखद छ। रारा नजिकको बस्तीहरूमा सामान्य औषधि, स्वास्थ्यकर्मी, र आपतकालीन सेवाको अभाव छ। रोग लागेमा उपचारको विकल्प प्रायः “भाग्य” मा निर्भर रहन्छ। महिलाहरूको गर्भावस्थामा उचित सेवा नपाई ज्यान गुमाउनु सामान्यजस्तै बनिसकेको छ।
स्थानीय तह सरकार गठनसँगै राराका बासिन्दाहरूमा केही आशा पलाएको थियो—शायद अब आफ्ना समस्या समाधान हुन्छन् भन्ने। तर ती आशाहरू एकपछि अर्को गर्दै विफलताको दलदलमा गुम्सिएका छन्।
रारा आसपासका स्थानीय पालिकाहरू (छायाँनाथ रारा नगरपालिका ) का अधिकांश जनप्रतिनिधिहरू दूरदर्शी योजनाको अभाव, प्राविधिक तथा स्रोत साधनको कमी, र राजनीतिक प्रभाव का कारण आफ्ना क्षेत्रको मूलभूत आवश्यकता सम्बोधन गर्न असफल भइरहेका छन्।
बजेट भए पनि त्यसको उपयोग प्रायः घोषणामै सीमित हुन्छ। सडक निर्माण, खानेपानी योजना, कृषि प्रविधिको विस्तार, पर्यटन पूर्वाधार निर्माण यी सबै कुरा योजना पुस्तिकामा लेखिए पनि कार्यान्वयन चरणमा पुग्दैनन्।
रारा राष्ट्रिय निकुञ्ज घोषणा गर्नु नेपालको पर्यावरण संरक्षण दृष्टिकोणबाट महत्त्वपूर्ण कदम थियो। तर, यसले त्यहाँको समुदायलाई सधैंका लागि “अन्यायको पर्खालभित्र” थुनेको महसुस दिलाएको छ।
निकुञ्ज नीति अनुसार स्थानीय बासिन्दाहरूले जङ्गल प्रयोग गर्न सक्दैनन्। आफ्ना पुर्खाले पुस्तौंपुस्ता प्रयोग गर्दै आएको घाँस, दाउरा, जडिबुटी, र चरनभूमिमा अब उनीहरूको अधिकार छैन। तर अर्कातिर, ठूला कम्पनीहरूलाई अनुमति दिइन्छ पर्यटन र निर्माणको नाममा वनक्षेत्र प्रयोग गर्न।
राज्यले पर्यटन प्रवर्द्धनका लागि “रारा भ्रमण वर्ष”, “गेटवे टू रारा”, र “नेपाल भ्रमण वर्ष” जस्ता कार्यक्रम घोषणा गर्छ, तर त्यो प्रवर्द्धनको फाइदा स्थानीयहरूभन्दा बाहिरबाट आएका व्यवसायीहरूले उठाउँछन्। स्थानीयहरू गाइड, होटल व्यवसाय, वा रोजगारीका साना अवसरबाट समेत बञ्चित छन्।
राराले प्रकृतिको सौन्दर्य त बोकेको छ, तर समयसँगै उसले मान्छेहरूको लोभ, उपेक्षा, र असंवेदनशीलता पनि झेलेको छ।
फोहोर र प्रदूषण: बढ्दो पर्यटक आगमनले रारा क्षेत्रमा फोहोर व्यवस्थापनको अभाव झल्किन थालेको छ। प्लास्टिक, बियरका बोतल, फोहोर पानी—यी कुराहरूले तालको जैविक सन्तुलन खल्बलाइरहेका छन्।
जलवायु परिवर्तनको असर: तापमान वृद्धि र अस्थिर मौसमले तालको जलस्तरमा असर पार्न थालेको छ। भविष्यमा ताल सुक्ने डर वैज्ञानिकहरूले व्यक्त गरिरहेका छन्।
संस्कृति विस्थापन: पर्यटनसँगै आएको बाह्य प्रभावले स्थानीय भाषाहरू, संस्कारहरू, र जीवनशैलीमा असर पार्न थालेको छ। परम्परागत सीप, गाथा, र रहनसहन अब हराउने खतरा बढेको छ।
राराको समस्याहरू समाधान गर्न सकिने सम्भावना प्रशस्तै छन्—तर त्यो राजनीतिक इच्छाशक्ति, जन-संवेदनशील नीति, र स्थानीय–केन्द्र सहकार्य बिना सम्भव छैन।
स्थानीयलाई पर्यटनमा भागीदार बनाउने नीति बनाइनुपर्छ, जसले उनीहरूलाई आर्थिक फाइदा दिलाउँछ।
शिक्षा र स्वास्थ्यमा विशेष कार्यक्रम ल्याइनुपर्छ शिक्षक तालिम, मोबाइल हेल्थ क्लिनिक, महिला स्वास्थ्य कार्यक्रम आदि।
राराको वातावरणीय संवेदनशीलता ध्यानमा राखी फोहोरमैला व्यवस्थापन, जैविक अध्ययन, र पर्यटनद्वारा हुने दवावको नक्साङ्कन गरिनुपर्छ।
संवेदनशील संरचनागत योजना: होमस्टे, इको-टुरिज्म, सस्टेनेबल खेती, र जडिबुटी प्रशोधन जस्ता कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्न सकिन्छ।
रारा ताल केवल प्रकृतिको सुन्दर रचना मात्र होइन त्यो हो त्यहाँ बाँचिरहेका मानिसहरूको घर, सपना र पहिचान। त्यसैले, जब हामी रारा हेर्छौं, हामीले केवल नीलो पानी र हरियो जंगल मात्र होइन, त्यो सौन्दर्यभित्रको मौन पीडालाई पनि देख्नुपर्ने समय आएको छ।
रारा रोइरहेछ , उ त्यसको सौन्दर्यहेरेर मख्ख पर्नेहरूको संवेदनशीलता माग्दै ।