रुकुम पश्चिममा जिप दुर्घटना : चालकसहित दुई जनाको मृत्यु, ९ जना घाइते

0 Shares

सुर्खेत, २८ भदौ ।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १५–१६ वर्षीया प्रेमकला पुन रहेका छन्।

कोटगाउँबाट सानीभेरी गाउँपालिकाकै सिम्लीतर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका नौ जनामध्ये तीनदेखि चार जनाको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ।

गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले उद्धारका लागि हेलिकप्टर उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममार्फत गृह मन्त्रालयमा अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार गाउँपालिकाको मागअनुसार गृह मन्त्रालयमा हेलिकप्टर उपलब्ध गराइदिन पत्राचार गरिसकिएको छ। सानीभेरीबाट सुर्खेतसम्म गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था भएकाले गाउँपालिकाले उद्धार खर्च व्यहोर्ने गरी तत्काल हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेको उनले बताए।

दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायको सहयोगमा घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै