काठमाडौं १९ फागुन । प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरु भएसँगै काठमाडौंका दुई स्थानमा सवारी साधनमा आगजनी गरिएको छ। आज बिहान सुकेधारा र नैकाप क्षेत्रमा पार्किङमा राखिएका गाडीमा आगो लगाइएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसर का प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराई ले दुवै घटनाको पुष्टि गरेका छन्। उनका अनुसार सुकेधारामा बा ७ च १४०१ नम्बरको गाडी र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा मंगलबार बिहान करिब ३ बजेतिर आगजनी भएको हो।
प्रहरीका अनुसार आगजनी गरिएका सवारी साधनभित्र दुर्गा प्रसाईं सम्बन्धी पर्चा फेला परेको छ। “बिहान ३ बजे आसपास आगजनी भएको हो। भित्र दुर्गा प्रसाईंको पर्चा भेटिएको छ,” एसपी भट्टराईले भने, “सवारी धनीले औपचारिक उजुरी दिएका छैनन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।”
घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान तथा प्रमाण सङ्कलनको काम गरिएको जनाएको छ। आगजनीको कारण र संलग्न व्यक्तिबारे यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
यसअघि ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईंलाई फागुन १७ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। जिल्ला प्रशासन कार्यालयले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
मौनअवधिको समयमा भएको यस घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षाकर्मीले सतर्कता बढाएको जनाइएको छ।
