काठमाडौँ, फागुन ८ गते । दाङको तुल्सीपुर उपमहानगरपालिका–५ स्थित विरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रेशम बोहरा का अनुसार घटनामा संलग्न दाङको तुल्सीपुर उपमहानगरपालिका–७, कालाखोला निवासी बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो।
उहाँका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको छ। उक्त घटनाले सामाजिक सद्भावमा खलल पुर्याउने भएकाले कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
फागुन ७ गते बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी का सभापतिलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरुले नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

