काठमाडौं पुस ८ गते । प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेस एउटै धारमा उभिन थालेका छन् । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्षसहित दुवै दलले अदालतमार्फत समाधान खोज्ने तयारी तीव्र पारेका हुन् ।
कांग्रेसले केन्द्रीय समिति बैठकबाट चुनावमा जाने औपचारिक निर्णय गरे पनि सरकारले चुनावी वातावरण बनाउन नसकेको भन्दै संसद् पुनःस्थापनालाई विकल्पका रूपमा अघि सारेको छ । यही क्रममा शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।
एमालेले यसअघि नै ७५ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ । सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले राष्ट्रपति, प्रधानमन्त्रीलगायत विपक्षीहरूसँग लिखित जवाफ माग गरिसकेको छ । कांग्रेसतर्फ प्रमुख सचेतक श्याम घिमिरेसहित ८ सांसदले दायर गरेको रिटमा पनि अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ ।
अब कांग्रेस र एमालेले संयुक्त रूपमा १३८ भन्दा बढी सांसदको हस्ताक्षर जुटाएर पुनः सर्वोच्च अदालत जाने तयारी गरेका छन् । यसका लागि जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्तिलगायत साना दलहरूको समेत समर्थन जुटाउने प्रयास भइरहेको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकार चुनावी वातावरण बनाउन असफल भएकाले संसद् पुनःस्थापनालाई विकल्पका रूपमा राखिएको बताए । नेपाल प्रेससँग उनले भने, “हामीले चुनावमा जाने निर्णय गरिसकेका छौँ । तर सरकारले त्यो वातावरण अझै बनाउन सकेन । फागुन २१ मा चुनाव नभए देश गम्भीर अन्योलमा फस्छ ।”
यद्यपि कांग्रेसभित्र यस विषयमा एकमत देखिएको छैन । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको ठूलो पङ्क्ति चुनाव नै अन्तिम विकल्प भएको धारणा राख्दै आएको छ । थापाले फागुन २१ मा अनिवार्य रूपमा चुनाव हुनुपर्ने भन्दै समयमै निर्वाचन गरेर संविधानलाई सही मार्गमा ल्याउनुपर्ने बताएका छन् ।
संसद् पुनःस्थापनाको पक्षमा हस्ताक्षर सङ्कलन गरिरहेका नेता श्याम घिमिरेले पार्टीको औपचारिक निर्णय नभए पनि आवश्यक ठानेर आफूहरू अघि बढेको दाबी गरे । उनले कांग्रेसका ६५, जनमतका १, लोसपाका १ र एक स्वतन्त्र सांसदको हस्ताक्षर तयार भएको बताए ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रपतिको संवैधानिक असावधानीकै कारण संसद् विघटन भएको दाबी गर्दै यसलाई लोकतन्त्र र जनताको सार्वभौमसत्तामाथिको प्रहार भने । उनका अनुसार विगतका नजिरका आधारमा तत्काल संसद् पुनःस्थापना गरिनुपर्छ ।
उता, तेस्रो दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी भने संसद् पुनःस्थापनाको विपक्षमा उभिएका छन् । उनीहरूले निर्धारित मितिमै चुनाव हुनुपर्ने अडान दोहोर्याएका छन् । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव सार्ने कुनै प्रयास भए चुप नबस्ने चेतावनी दिएका छन् भने रास्वपा सभापति रवि लामिछानेले सरकारलाई निर्धक्क भएर चुनाव गराउन आग्रह गरेका छन् ।
दलहरूको आशंका र दबाबबीच सरकारले भने चुनावको तयारी निरन्तर अगाडि बढाइरहेको बताउँदै आएको छ ।