जलजला क्षेत्रमा ताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

0 Shares

म्याग्दी  ८  मंसिर । म्याग्दी, पर्वत र कास्कीको त्रिदेशीय सीमामा अवस्थित प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थल कालाञ्जर–हम्पालको जलजला क्षेत्रमा ताल निर्माणका लागि औपचारिक सम्भाव्यता अध्ययन थालिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका तथा मोदी गाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रलाई दिगो धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने उद्देश्यले ताल निर्माणको अध्ययन अघि बढाइएको हो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार ३,२०० मिटर उचाइमा रहेको यो विशाल घाँसे मैदान र विविध पहाडी भूरूपलाई व्यवस्थित संरक्षण तथा प्रवर्धन गर्दै ताल निर्माण गर्ने योजना अन्तर्गत यस वर्ष ४० लाख रुपैयाँको बजेटमा डिपीआर तथा सम्भाव्यता अध्ययनको प्रक्रिया सुरु भएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले गत हप्ता ताल निर्माणस्थलको स्थलगत अवलोकन गरेको थियो । टोलीले भूगोल, जलस्रोत उपलब्धता, वातावरणीय असर र दीर्घकालीन प्रभावबारे विस्तृत अध्ययन गरेको उपाध्यक्ष आचार्यले बताए ।

अध्ययन टोलीले ताल निर्माणका लागि स्थान उपयुक्त रहेको प्रारम्भिक संकेत पाएको र आवश्यक सुरक्षा तथा व्यवस्थापनका उपायबारे पनि छलफल भएको जनाइएको छ । ताल निर्माण सम्पन्न भएमा कालाञ्जर–हम्पाल र जलजला क्षेत्र आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने प्रमुख श्रेष्ठले बताए ।

धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालको विहंगम दृश्य, म्याग्दी–पर्वत–बागलुङका रमणीय भूगोल, जडीबुटीको प्रचुरता, धार्मिक मान्यता र दुर्लभ जैविक विविधताले जलजलालाई महत्वपूर्ण सम्पदा क्षेत्रका रूपमा चिनाएको छ । धार्मिक ग्रन्थहरूमा ऋषिमुनिले तपस्या गरेका स्थलका रूपमा उल्लेख हुने जलजला क्षेत्र पिण्डदान तथा धार्मिक अनुष्ठानका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ ।

घोडेपानी, पुनहिल, मोहरेडाँडा, नागी तथा पर्वतका विभिन्न स्थानबाट पदमार्गमार्फत जोडिएको जलजला क्षेत्रमा लेकफाँट शालिजातर्फबाट कच्ची सडक पनि पुगेको छ, जसले भविष्यमा पर्यटकीय प्रवाह बढाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

सबै