नागरिक अगुवाहरूको आग्रह ‘राजनीतिक दलले अब नेतृत्व नयाँ पुस्तालाई सुम्पनुपर्छ’

0 Shares

काठमाडौँ, असोज २२ गते।  देशभर नवयुवाको विद्रोहपछि सिर्जिएको अस्थिर राजनीतिक परिस्थितीबीच नागरिक अगुवाहरूले राजनीतिक दलहरूलाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न आह्वान गरेका छन्। बुधबार सामूहिक हस्ताक्षरसहित जारी विज्ञप्तिमार्फत उनीहरूले कुनै पनि बहानामा नागरिक, राजनीतिक र सामाजिक अधिकार कुण्ठित नगरिन आग्रह गर्दै वर्तमान चुनौतीपूर्ण घडीमा नागरिक दायित्वबोध गर्न सबै सरोकारवालालाई सचेत गराएका छन्।

विज्ञप्तिमा भनिएको छ, “संवैधानिक प्रक्रिया यथाशक्य चाँडो सुसञ्चालन गर्न तोकिएको मिति २०८२ साल फागुन २१ गतेको निर्वाचनमा उत्साहपूर्वक मतदान हुनसक्ने वातावरण निर्माण गर्नका लागि शान्ति र अमन चयन कायम राख्न विशेष ध्यान पुर्याउँदै सरकार, जेन्जी प्रतिनिधि र राजनीतिक दलबीच तत्काल संवाद थाल्न आवश्यक छ।”

अगुवाहरूले नवयुवाको आन्दोलनमा घुसपैठका कारण हिंसात्मक रूप लिएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारी दमन र त्यसपछिका अराजकतापूर्ण घटनाको कडा भर्त्सना गरेका छन्। उनीहरूले राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिन नदिने जस्ता अस्वाभाविक र त्रासपूर्ण अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्।

“लोकतन्त्रको मूल आधार प्रतिस्पर्धात्मक चुनाव हो। त्यसमा रोक लगाउने कुनै पनि प्रयास अस्वीकार्य छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै, नागरिक अगुवाहरूले वर्तमान राजनीतिक दलहरूलाई पार्टीभित्र नयाँ नेतृत्व, विशेषतः युवाको सहभागिता बढाएर संगठनलाई पुनर्जीवित गर्न आग्रह गरेका छन्। उनका अनुसार, देशलाई स्थायित्व र जनविश्वास दिलाउन नेतृत्व हस्तान्तरण अपरिहार्य भएको छ।

उक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा लोकराज बराल, गणेशमान गुरुङ, रत्नसंसार श्रेष्ठ, उपेन्द्र कोइराला, सुशील प्याकुरेल, चण्डेश्वर श्रेष्ठ, कनक दीक्षित, रेणु अधिकारी, शरद वन्त, महेश मास्के, परशुराम तामाङ, शंकर सुवेदी, झलक सुवेदी, कुन्दन अर्याल, टीमाराम भट्टराई, शोभाकर बुढाथोकी, उषा झा, गीता त्रिपाठी, राधिका खतिवडा, भागिराम चौधरी, राजेन्द्र महर्जन, चूर्णबहादुर चौधरी र बिन्दु शर्माको संयुक्त हस्ताक्षर रहेको छ।

सम्बन्धित समाचार

सबै