विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, संसदमा संघर्ष गर्ने निर्णय

0 Shares

काठमाडौं, असार ९ गते ।  नेकपा (एमाले) संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई कानुनी शासनविपरीत भएको ठहर गर्दै सरकारविरुद्ध संसदमा संघर्ष गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको संसदीय दलको बैठकले सरकारको कार्यशैलीलाई तानाशाही तथा अधिनायकवादी प्रवृत्तिको संज्ञा दिँदै लोकतन्त्र र कानुनी राज्यको पक्षमा संसदभित्र सशक्त रूपमा उभिने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महरले उपाध्यक्ष पौडेललाई पक्राउ गर्ने तरिका अपमानजनक र कानुनी राज्यको मर्मविपरीत रहेको बताए। उनले पौडेलसँग राज्यले उपलब्ध गराएको सुरक्षा अधिकारी (पीएसओ) साथमै रहेको र काठमाडौं फर्किने तयारी भइरहेका बेला रातारात पक्राउ गरी सार्वजनिक यातायातमार्फत काठमाडौं ल्याइएको भन्दै आपत्ति जनाए।

“उहाँलाई अपराधीसरह व्यवहार गरेर पक्राउ गरिएको छ, जुन कानुनी राज्यको खिलाफमा छ,” महरले भने, “संसदीय दलले यस घटनाको घोर विरोध तथा भर्त्सना गर्दै उहाँको अविलम्ब र विनासर्त रिहाइको माग गरेको छ।”

एमाले संसदीय दलको बैठकले सरकार लोकतान्त्रिक मूल्य–मान्यताभन्दा बाहिर गएर अधिनायकवादी बाटोतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संसदमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको जनाएको छ।

बैठकले समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्दै सातबुँदे प्रस्तावसमेत पारित गरेको प्रमुख सचेतक महरले जानकारी दिए। यद्यपि, प्रस्तावका विस्तृत विषयवस्तु सार्वजनिक गरिएको छैन।

सम्बन्धित समाचार

सबै